काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले दुई हजार थान स्टिल अल्मिराज (दराज) हस्तान्तरण गरेका छन् । ‘एक टाटा नेपाल जिएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका प्रभावित परिवारलाई लक्षित गरी दराज हस्तान्तरण गरिएको टाटा समूहले जनाएको छ । तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना र दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सहयोग गरिएको बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनेबिलिटी अफिसर चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने भन्दै प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना, जीवनलाई सामान्य अवस्थामा फर्काउने र सुरक्षित भविष्य निर्माणमा पनि सहयोग आवश्यक रहेको बताउनुभएको थियो । त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको बताउनुभएको थियो । कार्यक्रममा टाटा सस्टेनेबिलिटी ग्रुपका एभिपी-एसएस श्रीरंग धवल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेशप्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभराज थपलिया, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायतको उपस्थिति रहेको बताइएको छ ।
भोटेकोशी प्रभावितलाई टाटा र सिप्रदियनको सहयोग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






