सुर्खेत । सुर्खेत घुमेर नेपालगञ्ज फर्किने क्रममा भेरी नदीमा नुहाउन गएका दुई युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपालगञ्ज निवासी आमिर शाह र हर्षित नाम गरेका युवा रहेका छन्। उनीहरू २०८३ मंसिर ७ गते बिहान करिब ११ बजे भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। सुर्खेत भ्रमण सकेर घर फर्किने क्रममा उनीहरू नदीमा नुहाउन तथा पौडी खेल्न गएका थिए। प्राप्त जानकारीअनुसार नदीमा नुहाउँदै र पौडी खेल्दै भिडियो बनाउने क्रममा दुवै जना बेपत्ता भएका थिए। भिडियो रेकर्ड गर्न उनीहरूले मोबाइल स्ट्यान्डमा राखेर नदीमा प्रवेश गरेका थिए। पछि उनीहरू नदीमा डुबेको दृश्य त्यहाँ श्राद्धका लागि पुगेका केही व्यक्तिहरूले देखेका थिए। घटनाबारे जानकारी पाएलगत्तै परिवारले सम्बन्धित निकायसँग खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्। तर, खोजी कार्यमा ढिलाइ भइरहेको भन्दै परिवारले असन्तुष्टि जनाएका छन्। बेपत्ता युवाको अवस्था पत्ता लगाउन तत्काल प्रभावकारी खोजी गर्न र आवश्यक उद्धार टोली परिचालन गर्न उनीहरूले माग गरेका छन्। घटनापछि दुवै युवाको अवस्था अझै अज्ञात छ। खोजी कार्यको पछिल्लो अवस्था र घटनाबारे प्रहरी प्रशासनको आधिकारिक विवरण भने प्राप्त हुन बाँकी छ।
भेरी नदीमा पसेका दुई युवा बेपत्ता, मोबाइल स्ट्यान्डमै छाडेर गएका थिए

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






