Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना;शवसँगै फर्किए आफन्त, प्रशासनको आश्वासनमै सीमित माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना;शवसँगै फर्किए आफन्त, प्रशासनको आश्वासनमै सीमित माग
Photo / Coverage: हिमालय टाइम्स

मकवानपुर । छठ पर्वको खुसी साट्न कर्मभूमि काठमाडौंबाट जन्मभूमि सर्लाही फर्किंदै थिए उनीहरू । घरपरिवारसँग पर्व मनाउने सपना बोकेर निस्किएको यात्रा मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा पुगेर सदाका लागि टुंगियो । बिहीबार बिहान भएको ईभी दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाको ज्यान गयो । सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, सुन्दरपुरका उनीहरूको घर फर्किने खुसी क्षणभरमै शोकमा बदलियो । दुर्घटनाले सबैभन्दा ठूलो चोट अवधेशकुमार यादवको परिवारमा पुर्‍यायो । उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गरी परिवारका ६ सदस्य गुमाए । १४ महिनाका छोरा पनि दुर्घटनामा घाइते भए । उनको काठमाडौंमा उपचार भइरहेको छ । परिवारका सदस्य गुमाएको असह्य पीडाबीच स्वास्थ्यमा समस्या देखिएपछि अवधेश स्वयंसमेत हेटौंडा अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुपरेको थियो । हेटौंडा अस्पतालमा आफन्तका शव थिए । तर, पीडित परिवारका लागि त्यो केवल शव बुझ्ने र अन्तिम संस्कार गर्ने विषय थिएन । दुर्घटनाले उनीहरूको वर्तमान मात्र होइन, भविष्यसमेत अन्योलमा पारेको थियो । परिवारको मुख्य आधार गुमेपछि बालबालिकाको शिक्षा, पालनपोषण र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको थियो । यही चिन्ताका बीच मृतकका आफन्तले राहत र पुनःस्थापनाको माग अघि सारे । प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति, दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा तथा पालनपोषणको जिम्मेवारी र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो । साथै दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने अडान राख्दै उनीहरूले शव परीक्षण र शव बुझ्ने प्रक्रिया रोके । आफन्तको अडानपछि प्रशासनमाथि माग सम्बोधनका लागि दबाब बढ्यो । मधेश प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव, चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादव र मृतकका आफन्तसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफल गरेको थियो । टोलीले सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसमक्ष पीडितका माग राखेको थियो । छलफलपछि प्रशासनले पीडितका माग दुर्घटना छानबिन समितिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएर सम्बोधनका लागि पहल गर्ने आश्वासन दियो । सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने प्रशासनको प्रतिबद्धतापछि आफन्त शव बुझ्न तयार भए । तर, पीडितका माग कार्यान्वयन गर्ने विषयमा ठोस लिखित सहमति भने हुन सकेन । क्षतिपूर्ति, बालबालिकाको शिक्षा तथा पालनपोषण र रोजगारीको सुनिश्चितताबिनै प्रशासनको आश्वासनलाई विश्वास गरेर आफन्तले शव बुझे । करिब ३६ घण्टासम्म हेटौंडा अस्पतालमा रहेका शव लिएर उनीहरू सर्लाही फर्किए । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव परिवारले यसअघि नै बुझिसकेको थियो । बाँकी १३ जनाको शव अस्पतालमै राखिएको थियो । अस्पतालको शवगृहमा एकपटकमा चारवटा शव मात्र राख्न सकिने भएकाले सबै शव एकैपटक राख्दा व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । शव बुझ्ने सहमतिसँगै तत्कालको अन्योल हटे पनि पीडित परिवारको मुख्य चिन्ता भने यथावत् छ । आफन्तको अन्तिम संस्कारपछि उनीहरू फेरि त्यही प्रश्नसँग जुध्नुपर्नेछ,परिवारका सदस्य गुमाएपछि बाँकी जीवन कसरी चलाउने ? घाइते बालबालिकाको भविष्य कसले सुनिश्चित गर्ने ? र, दुर्घटनामा भएको क्षतिको जिम्मेवारी कसले लिने ? मधेश प्रदेशसभा सदस्य एवं पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवका अनुसार दुर्घटनामा मृत्यु भएका १३ जनाको सर्लाहीमा एकै स्थानमा सामूहिक दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनकै नेतृत्वमा हेटौंडा आएको टोलीले मृतकको पारिवारिक रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि आवश्यक तयारी अघि बढाएको छ । चिसापानीगढीको दुर्घटनाले १४ जनाको ज्यान लियो । तर, त्यसको असर मृतकका परिवारमा मात्र सीमित छैन । परिवारका कमाउने सदस्य गुमाएका बालबालिकाको भविष्य, आश्रित परिवारको जीविकोपार्जन र पीडितले न्याय पाउने विषय अब राज्यको जवाफदेहितासँग जोडिएको छ । आफन्त शव लिएर गाउँ फर्किएका छन्, तर उनीहरूले उठाएका माग पूरा हुने कि नहुने भन्ने प्रश्नको जवाफ भने प्रशासनको सातदिने आश्वासनले मात्र दिन सक्दैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
Latest NewsJust now

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

काठमाडौँ, कात्तिक २७ गते । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भ... ...

गोरखापत्र
दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्
Latest NewsJust now

दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

ठूला सडक दुर्घटनासम्बन्धी अध्ययन समितिहरूले औंल्याउँछन्– सडकको दुरवस्था, चालकको लापरबाही, एउटै चालकले लामो दूरीको सवारीसाधन लगातार चलाउनु, चालकहरूबीच अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु । हरेक पटक लगभग उस्तै कारक देखिनुले अध्ययन समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रस्ट्याउँछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play