Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु
Photo / Coverage: पर्दाफास

छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने सपना बोकेर काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका लागि अन्त्य भएको छ । दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ । मधेश प्रदेश ०३–००१ ज ००८ नम्बरको यात्रुवाहक विद्युतीय हाइस गाडी बिहीबार बिहान ५ः५५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । छठ पर्वको तयारीमा जुटेको सुन्दरपुर गाउँमा दुर्घटनाको खबर फैलिएसँगै उत्सवको वातावरण एकाएक शोकमा परिणत भएको छ । रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका गाउँलेहरू परिवारसँग छठ मनाउन घर फर्किंदै गर्दा दुर्घटनामा परेपछि गाउँभरि रुवाबासी चलेको छ । मृतकका आफन्त, छरछिमेक र परिवारजन शोकमा डुबेका छन् । स्थानीय नितेश कुमारका अनुसार दुर्घटनाको खबरपछि सुन्दरपुरको अवस्था अत्यन्तै पीडादायी बनेको छ । आफन्तहरू घरमा शव आउने प्रतीक्षामा छन् । कुनै आफन्त वा चिनजानको व्यक्ति घर पुग्दा पनि परिवारजनको चिच्याहटले गाउँ नै स्तब्ध हुने गरेको उहाँले बताउनुभयो । दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात सुन्दरपुरकी निर्मला देवीको परिवारमा परेको छ । उहाँको परिवारका ६ जनाको यस दुर्घटनामा मृत्यु भएको छ । श्रीमान् राम सुनर रायको आठ वर्षअघि निधन भएपछि जेठा छोरा अवधेश यादवले काठमाडौँको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गरेर परिवारको पालनपोषण गर्दै आएका थिए । छठ पर्व मनाउन अवधेशले बुधबार राति श्रीमती पुनम यादव, छोरीहरू १० वर्षीया अनु यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, छोरा कात्तिक यादव तथा भाइहरू २५ वर्षिइ विकेश यादव र १६ वर्षिय सुधेश यादवलाई गाडी चढाएर घर पठाएका थिए । आफू काठमाडौँमै बसेका कारण अवधेश भने सुरक्षित छन् । तर, उनले घर पठाएका आफन्तमध्ये १६ महिने छोरा कात्तिक मात्र जीवित छन् । उनी पनि घाइते अवस्थामा छन् । अवधेशकी श्रीमती पुनम आठ महिनाकी गर्भवती थिइन् । उनका भाइ विकेश इन्जिनियरिङ अध्ययन पूरा गरेर घर फर्किंदै थिए । परिवारसँग छठ मनाउने र आमासँग खुसी साट्ने उनीहरूको सपना दुर्घटनाले चकनाचुर बनाएको छ । एउटै परिवारका सदस्य गुमाउँदा निर्मला देवीको घर अहिले शोकमा डुबेको छ । त्यस्तै, सुन्दरपुरका निरशु यादवले छोरा ४० वर्षीय राकेश राय र १४ वर्षीय नाति रोहन राय गुमाउनुभएको छ । घरअगाडि बसेर उहाँ अहिले छोरा र नातिको शव आउने प्रतीक्षामा हुनुहुन्छ । परिवारका महिलाहरू विक्षिप्त अवस्थामा छन् । राकेशकी श्रीमती छठ मनाउन दुई नातिनी र एक नातिलाई लिएर दुई दिनअघि नै गाउँ आइसकेकाले उनीहरू भने सुरक्षित रहेका छन् । यसै दुर्घटनामा निरशु रायका भाइ चन्देश्वर रायका २५ वर्षीय छोरा सुवोध रायको समेत मृत्यु भएको छ । सुन्दरपुरकै निरस रायको परिवारमा पनि अर्को ठूलो विपत्ति परेको छ । उहाँका दुई छोरा एउटै गाडीमा घर फर्किंदै थिए । तीमध्ये २५ वर्षीय रामदुलार रायको दुर्घटनामा मृत्यु भएको छ भने ३० वर्षीय देवेन्द्र राय घाइते भएका छन् । आँखाभरि आँसु पार्दै निरस रायले केही वर्षअघि जेठा छोरा रोजगारीका लागि भारतको मुम्बईमा रहँदा निधन भएको पीडा सुनाउनुभयो । अहिले फेरि काठमाडौँबाट घर फर्किंदै गर्दा अर्को छोरा गुमाउनुपरेको उहाँको भनाइ छ । जीवित रहेका छोरा पनि घाइते भएकाले उपचारमा सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै, सुन्दरपुरका अमिरी रायका २ वर्षीय छोरा राम प्रवेश यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । प्रमोद यादवका छोरा २६ वर्षिय गुड्डु यादव र बुहारी २४ वर्षकी गायत्री देवीले समेत ज्यान गुमाएका छन् । उनीहरूका पाँच वर्षीय छोरा सक्षम यादव र तीन वर्षीय छोरा सुजन यादव दुर्घटनामा घाइते भएका छन् । कलिला उमेरमै दुवै बालबालिकाले अभिभावक गुमाउनुपरेको छ। दुर्घटनामा गाडीका चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ । त्यस्तै, सुन्दरपुरका बासदेव रायका ३३ वर्षीय छोरा मुकेश यादव घाइते भएका छन् । रोजगारीका लागि काठमाडौँमा बसेर परिवारको भविष्य निर्माणमा जुटेका सुन्दरपुरवासी छठ पर्वमा घर फर्किंदै गर्दा भएको यो दुर्घटनाले गाउँका धेरै परिवारको खुसी खोसेको छ । कतै आमाले सन्तान गुमाएकी छन्, कतै बालबालिकाले अभिभावक गुमाएका छन् । छठको प्रसाद, पूजाको तयारी र पारिवारिक भेटघाटको प्रतीक्षामा रहेको सुन्दरपुर अहिले आफ्ना प्रियजनको अन्तिम बिदाइको तयारीमा छ । पर्वको उमंग छाउने बेला गाउँभरि शोक र पीडाको सन्नाटा फैलिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६... ...

रातोपाटी
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी
Latest NewsJust now

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ... ...

रातोपाटी
वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह
Latest NewsJust now

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

टर्की । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग आग्रह गरेकी छिन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण र खाद्य सुरक्षाका लागि हरित हाइड्रोजन तथा हरित ...

कर्पोरट खबर
माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा
Latest NewsJust now

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play