हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका छन् । हेटौँडा अस्पतालमा राखिएका शवको पोस्टमार्टमपछि शुक्रबार आफन्तलाई हस्तान्तरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग शुक्रबार भएको छलफलपछि मृतकका परिवार शव बुझ्न सहमत भएका हुन् । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये माइक्रोबस चालकको शव भने आफन्तले बिहीबार साँझ नै बुझिसकेका थिए । गत बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको दुर्घटनामा मधेस प्रदेशको सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका–४ का १३ जना र वडा नम्बर ८ का एक जनासहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए । मृतकका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था, परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए । माग सम्बोधन नभएसम्म पोस्टमार्टमसमेत गर्न नदिने अडानमा रहेका उनीहरू प्रशासनसँगको छलफलपछि सहमत भएका हुन् । पीडित परिवारका माग सात दिनभित्र सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि पोस्टमार्टम गर्न दिइएको थियो । छलफलमा मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले पनि माग सम्बोधनका लागि पहल गरेका थिए । पारिवारिक स्रोतका अनुसार हेटौँडा अस्पतालबाट बुझिएका शव शुक्रबार नै सर्लाही पुर्याएर दाहसंस्कार गरिनेछ । दुर्घटनामा एकै परिवारका छ सदस्यसहित १४ जनाले ज्यान गुमाएका थिए ।
भीमफेदी दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझे, के-के भयाे सहमति ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






