हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटनाको वास्तविक कारण भने यकिन गर्न सकेको छैन। त्यसका लागि थप प्राविधिक तथा कानुनी अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ। गत कात्तिक २६ गते बिहान काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी भीमफेदीमा सडकबाट तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले स्थलगत अध्ययन, प्रत्यक्षदर्शीको भनाइ र उपलब्ध कागजातका आधारमा प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनले चालकको थकान र पर्याप्त विश्रामको अभावलाई दुर्घटनाको सम्भावित कारणका रूपमा औँल्याएको छ। चालक रविशंकर कुमार मण्डलले कात्तिक २४ गतेदेखि लगातार सवारी सञ्चालन गरेको र दुर्घटनाको दिन बिहान १ बजे मलंगवाबाट काठमाडौँ आइपुगेको करिब एक घण्टापछि पुनः यात्रु लिएर मलंगवातर्फ लागेको उल्लेख छ। तर चालक निदाएको वा थकानकै कारण नियन्त्रण गुमाएको पुष्टि भने भएको छैन। प्रत्यक्षदर्शीका अनुसार ईभी घुम्तीमा नमोडिई सिधै जंगलतर्फ गएको थियो। दुर्घटनास्थलको सडक साँघुरो भएकै कारण दुर्घटना भएको नदेखिएको समितिको निष्कर्ष छ। यद्यपि सडकको भौगोलिक जोखिम, घुम्ती, सुरक्षा संरचना र संकेत व्यवस्थामा सुधार आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेको र सवारीको स्वीकृत क्षमता ११ जना मात्रै रहेको पनि प्रतिवेदनले पुष्टि गरेको छ। क्षमताभन्दा नौ जना बढी यात्रु राखिएको भए पनि यही कारणले दुर्घटना भएको प्रमाणित हुन नसकेको समितिले जनाएको छ। त्यस्तै, ईभीको ब्रेक, स्टेयरिङ, मोटरलगायतका प्रणालीमा दुर्घटनाअघि खराबी थियो वा थिएन भन्ने यकिन हुन सकेको छैन। सवारी अत्यधिक क्षतिग्रस्त भएकाले प्राविधिक अवस्था परीक्षण गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ। सवारीको जाँचपास अवधि भने कायम रहेको थियो। समितिले दुर्घटनाको जिम्मेवारी चालकमा मात्रै सीमित गर्न नमिल्ने भन्दै सवारीधनी, यातायात व्यवसायी, सडक व्यवस्थापन गर्ने निकाय र नियामक संस्थाको भूमिकासमेत थप अनुसन्धान गर्नुपर्ने जनाएको छ। चालकको कार्यअवधि र विश्राम, यात्रु क्षमता तथा सवारीको प्राविधिक अवस्थाको निगरानी गर्न प्रविधिमा आधारित एकीकृत यातायात अनुगमन प्रणाली विकास गर्न सुझाव दिइएको छ। त्यस्तै, जोखिमयुक्त सडकको नियमित सुरक्षा परीक्षण, विद्युतीय सवारी सञ्चालनका प्राविधिक मापदण्ड र दुर्घटना अनुसन्धान प्रणाली प्रभावकारी बनाउन तथा मृतकका परिवार र घाइतेको उपचार, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न समितिले सिफारिस गरेको छ।
भीमफेदी दुर्घटनाको प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






