काठमाडौं । भारतको बेंगलुरुमा जारी यू-१९ महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल भारत ‘ए’सँग १२५ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित २० ओभरमा २०५ रन बनाएको थियो । भारतीय टोलीका ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेका थिए । जवाफमा नेपाली टोलीले अपेक्षित ब्याटिङ गर्न सकेन । नेपालले सय रनको आँकडासमेत पार गर्न नसक्दा ठूलो अन्तरको हार बेहोर्नुपर्यो । यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारत ‘बी’सँग नौ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ४९ रन मात्रै बनाएको थियो । भारत ‘बी’ले पाँच ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । चीनमा सम्पन्न बेल्ट एन्ड रोड यू-१९ महिला टी-२० सिरिजमा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीका लागि भारतको सिरिज भने चुनौतीपूर्ण बनेको छ । चीनमा नेपालले चार खेल जितेको थियो भने दुई खेल वर्षाका कारण नतिजाविहीन भएका थिए । भारतको सिरिजमा नेपालले घरेलु टोलीका यू-१९ ‘ए’ र ‘बी’ टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । आगामी वर्ष नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपको तयारीका रूपमा यो सिरिजलाई हेरिएको छ । विश्वकपअघि बलिया टोलीसँग खेल्ने अवसरले नेपाली खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने र कमजोरी सुधार्ने मौका दिनेछ ।
भारतसँग नेपाल यू-१९ महिला टोली पराजित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






