काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार(आइएक्स) डे-अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । प्राधिकरणले मंसिर १ गते अर्थात् १७ नोभेम्बरदेखि १५ साउन २०८४ अर्थात् ३१ जुलाई २०२७ सम्म विद्युत् आयात गर्न पाउनेछ । जसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म बाहेक अन्य समयमा आइएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिनेछ । प्राधिकरणका अनुसार कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत् तीन सय तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत् ५० गरी कुल तीन सय ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ । अनुमतिअनुसार, कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत् तीन सय मेगावाट तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत् ५० मेगावाट गरी कुल तीन सय ५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट तीन सय ५० मेगावाट विद्युत् आयात अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न थप सहज हुने बताउनुभयो । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिम बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा चार सय ३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यस्तो अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत वर्षको विद्युत् माग र उत्पादन अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ । सो अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत चार सय ५० देखि पाँच सय मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ । त्यस्तै, उच्च माग हुने पिकआवरमा दैनिक आठ सयदेखि नौ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान गरिएको छ । पुस र चैतमा भने तुलनात्मकरूपमा कम विद्युत् आयात गरे पुग्ने आँकलन गरिएको छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादन वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ । साथै प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले मंसिर १ गते अर्थात् नोभेम्बर २०२६ देखि १५ साउन अर्थात् ३१ जुलाई २०२७ सम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ । बंगलादेशतर्फको निर्यात बन्दयस वर्ष बंगलादेशतर्फको ४० मेगावाट बिजुली निर्यात रोकिएको छ । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको छ महिना अवधिमा दैनिक ४० मेगावाट विद्युत्् बंगलादेशमा निर्यात हुँदै आएकोमा रोकिएको हो । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अब अर्को वर्षमात्रै बंगलादेशतर्फ विद्युत् निर्यात हुनेछ । सुक्खायाम सुरु हुन थालेसँगै बिजुली निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण नरहेकाले बंगलादेशतर्फ आगामी वर्षमात्रै निर्यात हुनेछ । चाडबाड सकिएसँगै मंगलबारदेखि विद्युत् प्रणालीमा लोड बढ्दै गएको छ । यसअघि दैनिक करिब १९ सय मेगावाटको मात्रै लोड रहेकोमा अब दैनिक २५ सय मेगावाट पुग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालसँग विद्युत् उपलब्ध भने करिब २७ सय मेगावाटमात्रै रहेकाले अर्को हप्तादेखि भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । आगामी वर्षमात्रै भारत र बंगलादेशतर्फ विद्युत् निर्यात हुनेछ ।
भारतले नेपाललाई ३५० मेगावाट विद्युत् दिने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






