काठमाडौं । भाइटीकाको दिन काठमाडौं उपत्यकामा वर्षा भएको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागमा मौसम बदली भई असिनासहितकाे वर्षा भएको हो। बुधबार बिहानदेखि नै काठमाडौं उपत्यकाको आकाश बादलले ढाकिएको थियाे। उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षासँगै असिना परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ। ती प्रदेशका केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। यसअघि नै मौसम पूर्वानुमान महाशाखाले भाइटीकाको दिन काठमाडौंसहित पहाडी तथा हिमाली भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको थियो। मौसमविद् माधवी सिग्देलका अनुसार ठूलो वर्षाको सम्भावना नरहे पनि दिउँसो तथा अपराह्न केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको थियो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि कमजोर पश्चिमी वायुको प्रभावले नेपालको पूर्वी आधा भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने बताएका थिए। यद्यपि, देशका अधिकांश तराईका जिल्लामा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भने हल्का बदली हुन सक्नेछ।
भाइटीकाकै दिन काठमाडौंमा वर्षा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






