काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सहकार्यमा अघि बढाइएका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्। सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर चार परियोजनाको शिलान्यास र एक परियोजनाको उद्घाटन गरेका हुन्। यस क्रममा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुलको उद्घाटन गरिएको छ। ११० मिटर लामो उक्त पुल दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यको धार्चुला तहसिलस्थित छारछुमलाई जोड्ने गरी निर्माण गरिएको हो। पुल निर्माणको सम्पूर्ण खर्च भारत सरकारले बेहोरेको हो। भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा पुल निर्माण गरेको हो। तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले २०८० असोज ३ गते पुलको शिलान्यास गरेका थिए। पुल सञ्चालनमा आएपछि दुवै देशबीच आवतजावत सहज हुनुका साथै सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र नागरिकस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। यसैगरी, भारतको बनबासा नाकामा एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ। मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजनाको उद्घाटन गरिएको छ। यस परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आपूर्ति सुरु भएको छ। त्यस्तै, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको पनि शिलान्यास गरिएको छ।
बालेन र मोदीले गरे पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






