Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बालेन आजदेखि २५ घण्टे भारत भ्रमणमा निस्किदैः तोड्दैछन् पुराना परम्परा, मोदीसँग के होला सम्झौता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन आजदेखि २५ घण्टे भारत भ्रमणमा निस्किदैः तोड्दैछन् पुराना परम्परा, मोदीसँग के होला सम्झौता ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज (आइतबार) दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री बनेपछि उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो । तर, यो भ्रमण अन्य प्रधानमन्त्रीहरूको विगतका भारत भ्रमणभन्दा केही फरक देखिँदैछ । करिब २५ घण्टा नयाँ दिल्लीमा बिताउने प्रधानमन्त्री शाहले पुराना भ्रमणका केही परम्परा तोड्दै छोटो, सीमित र मुख्यतः आर्थिक तथा कूटनीतिक एजेन्डामा केन्द्रित भ्रमण गर्न लागेका छन् । विगतमा प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा देखिने तामझाम, लामो भ्रमण तालिका, राजधानीबाहिरका सहरको यात्रा र विभिन्न तहका राजनीतिक तथा व्यावसायिक भेटघाट यसपटक कम देखिनेछन् । कस्तो छ भ्रमण तालिका ?प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् । ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका शाहलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताज मानसिंह पुग्नेछन् । त्यहाँ साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता हुनेछ । भ्रमणको दोस्रो दिन अर्थात् सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत गरिनेछ । त्यसपछि १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ । सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै छलफल र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क, पूर्वाधार विकास र दुई देशबीचको आर्थिक सहकार्यका विषय प्राथमिकतामा रहनेछन् । दिउँसो १२ः२५ बजे दुई देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । दिउँसो ३ः१५ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेपछि शाह साँझ स्वदेश फर्किनेछन् । अरू प्रधानमन्त्रीभन्दा कसरी फरक छ बालेनको भ्रमण ?प्रधानमन्त्री शाहको भारत भ्रमणको सबैभन्दा रोचक पक्ष यसको छोटो अवधि र फरक कार्यशैली हो । विगतमा नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा तीनदेखि चार दिनसम्म बस्ने, दिल्लीबाहिरका सहरमा जाने, विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने र नेपाली व्यवसायी तथा प्रवासी नेपाली समुदायसँग अन्तरक्रिया गर्ने परम्परा थियो । तर, शाह यसपटक दिल्लीबाहिर जाने छैनन् । भारतीय पक्षले उनलाई भारतका विकास आयोजनाहरू अवलोकन गराउन बेङ्गलुरु वा अहमदाबाद लैजाने प्रस्ताव गरे पनि उनले राजधानीबाहिर जाने इच्छा नदेखाएको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै समाचार सार्वजनिक भएका छन् । त्यस्तै, विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्चपदस्थ अधिकारीहरूको ठूलो टोली बिदाइका लागि उपस्थित हुने गरेको थियो । तर शाहले यसपटक त्यस्तो तामझाम नगर्ने नीति लिएका छन् । उनले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदा पनि परम्परागत बिदाइ शैली अपनाएका थिएनन् । त्यस्तै, भारतमा रहेका नेपाली व्यवसायीहरूसँग प्रधानमन्त्री आफैँले छुट्टै भेटघाट गर्ने कार्यक्रम छैन । उनीहरूको अन्तरक्रियाको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई दिइएको छ । नेपाली राजदूतावासमा औपचारिक भ्रमण गर्ने कार्यक्रम पनि छैन । प्रधानमन्त्रीको भ्रमणलाई लामो राजनीतिक भेटघाटभन्दा सीमित उच्चस्तरीय वार्ता र आर्थिक सहकार्यमा केन्द्रित गर्न खोजिएको देखिन्छ । मोदीसँग के–के विषयमा हुँदैछ छलफल ?प्रधानमन्त्री शाहको भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउनु र लामो समयदेखि चर्चामा रहेका विकास तथा पूर्वाधार आयोजनालाई अगाडि बढाउनु हो । यसपटक नेपालले भारतसँग विशेषगरी आर्थिक सहयोग प्याकेज, थप हवाई प्रवेश मार्ग, ऊर्जा व्यापार, व्यापार सहजीकरण र पूर्वाधार विकासका विषयमा ठोस सहमति खोजिरहेको छ । नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भारतसँग महेन्द्रनगर, भैरहवा, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन माग गर्दै आएको छ । तर भारतले सुरक्षा संवेदनशीलताको विषय उठाउँदै यसमा सहजै सहमति दिएको छैन । यसपटक भने महेन्द्रनगर र भैरहवाबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारत केही सकारात्मक देखिएको नेपाली अधिकारीहरूको भनाइ छ । विशेषगरी महेन्द्रनगरको रुटमा सहमति जुट्ने सम्भावना बलियो देखिएको छ । यद्यपि प्राविधिक विषय टुंगिन बाँकी रहेकाले अन्तिम सहमति हुने विषय निश्चित भइसकेको छैन । भैरहवाबाट प्रवेश मार्ग उपलब्ध भएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई थप सहज बनाउन सकिने नेपालको अपेक्षा छ । त्यस्तै, भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोग, ऋण तथा अनुदानको विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । नेपालले करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेजका लागि पहल गरिरहेको विषय पनि चर्चामा छ । ऊर्जा व्यापारमा नेपालले भारततर्फ विद्युत् निर्यात थप बढाउने, बंगलादेशसम्म विद्युत् व्यापार विस्तार गर्ने र जलविद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ । रेलदेखि पेट्रोलियम पाइपलाइनसम्मका आयोजनायो भ्रमणमा केही सम्पन्न आयोजनाको संयुक्त उद्घाटन र नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । तयारीअनुसार जनकपुर–अयोध्या रेलसेवा, भैरहवा–सुनौली एकीकृत जाँचचौकी, दार्चुलामा महाकाली नदीमाथि निर्माण गरिएको पुल र काभ्रेको पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको नयाँ भवन उद्घाटन गरिनेछ । त्यस्तै, दोधारा चाँदनी एकीकृत जाँचचौकी, अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्मको पेट्रोलियम पूर्वाधार परियोजनाको शिलान्यास गर्ने तयारी छ । यी आयोजनाहरूले नेपाल–भारतबीचको यातायात, व्यापार र ऊर्जा पूर्वाधार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका अतिरिक्त सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा पनि समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ। भारतीय शैक्षिक संस्थान आईआईटी र आईआईएमका शाखा नेपालमा सञ्चालन गर्ने प्रस्तावदेखि सीमापार ग्यास पाइपलाइन, क्रिकेट पूर्वाधार र दुई देशका विभिन्न सहरबीच हवाई सम्पर्क विस्तारसम्मका विषय पनि छलफलको सूचीमा छन् । तर, सीमा विवाद, व्यापार घाटा, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र भारतीय सेनामा नेपाली नागरिकको भर्तीसम्बन्धी विषयमा यस भ्रमणबाटै ठोस उपलब्धि हासिल हुने सम्भावना भने कम रहेको कूटनीतिक विश्लेषण छ । ५२ सदस्यीय निजी क्षेत्रको टोली पनि भारत जाँदैप्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक र कूटनीतिक भेटघाटमा मात्र सीमित नराखी आर्थिक कूटनीतिसँग जोड्ने प्रयास पनि गरिएको छ । जसका लागि प्रधानमन्त्रीसँग ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलका अतिरिक्त निजी क्षेत्रका ५२ जना व्यवसायी पनि भारत जाँदैछन् । उनीहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधिहरू यस टोलीमा रहनेछन् । दिल्लीमा नेपाल–भारत बिजनेस समिट तथा व्यवसायीबीच अन्तरक्रिया आयोजना हुनेछ । त्यसमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली व्यवसायीहरूले भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच, निर्यातमा रहेका अवरोध हटाउने, गुणस्तर प्रमाणीकरणलाई सहज बनाउने, भन्सार तथा पारवहन समस्या समाधान गर्ने र नेपालमा भारतीय लगानी आकर्षित गर्ने विषयलाई प्राथमिकता दिएका छन् । तर, नेपालले भारतीय लगानी आकर्षित गर्न खोजिरहेका बेला व्यवसायीहरूको अन्तरक्रियामा भारतीय सरकारका मन्त्रीको सहभागिता नहुने खबरले पनि चासो बढाएको छ । यसले आर्थिक कूटनीतिका एजेन्डालाई कति प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने प्रश्नसमेत उठाएको छ । आठ महिनापछि बदलियो विदेश भ्रमण नगर्ने नीतिप्रधानमन्त्री शाहले पदभार सम्हालेपछि एक वर्षसम्म विदेश भ्रमण नगर्ने नीति लिएको चर्चा थियो । तर प्रधानमन्त्री बनेको करिब आठ महिनामै उनी भारतको राजकीय भ्रमणमा निस्कन लागेका हुन् । प्रधानमन्त्री बनेलगत्तै भारतले उनलाई भ्रमणको निमन्त्रणा दिएको थियो । त्यसबेला भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदा प्रोटोकल नमिलेको भन्दै प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गरेको विषय पनि चर्चामा आएको थियो । त्यसपछि रोकिएको भ्रमण प्रक्रिया अहिले औपचारिक रूपमा अगाडि बढेको छ । भारतले यसअघि पनि नेपालका उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तारलाई प्राथमिकता दिँदै आएको छ । तर यसपटकको भ्रमणमा भारतले कस्तो आतिथ्य दिन्छ र नेपालले आफ्ना प्राथमिकताका विषयमा कति उपलब्धि हासिल गर्छ भन्ने विषय चासोको केन्द्रमा छ । समग्रमा, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अवधि छोटो भए पनि यसले नेपाल–भारत सम्बन्धको आगामी दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । पुराना भ्रमण शैली बदल्नु एउटा पक्ष हो, तर वास्तविक सफलता भने हवाई प्रवेश मार्ग, आर्थिक सहयोग, ऊर्जा व्यापार, पूर्वाधार विकास र नेपाली उत्पादनको भारतीय बजारमा पहुँचजस्ता विषयमा हुने ठोस सहमतिले निर्धारण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
Latest NewsJust now

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी

विजयकुमार साह ढल्केबर, मङ्सिर ६ गते । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सेवा सञ्चालन हुने भएपछि जनकपुरसहित मधेश प्रदेशका स्थानीय उत्साहित भएका छन् । धार्मिक, सांस्कृतिक तथा ऐतिहासि... ...

गोरखापत्र
रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन
Latest NewsJust now

रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । राइड सेयरिङ सेवामा यात्रुबाट अस्वाभाविक रूपमा बढी भाडा असुल्ने गरेको विषयमा रातोपाटीले समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको छ । रातोपाटीले शनिबार 'संकटमा यात्रुको... ...

रातोपाटी
ट्याक्टरबाट खसेर पुरुषको मृत्यु
Latest NewsJust now

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play