काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिए पनि सीमा समस्या, सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकन तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचजस्ता विषयमा छलफल हुन नसकेको बताएका हुन्। उनले प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा र ऐतिहासिक सन्धिका विषय उठाउने अपेक्षा गरेको बताए। कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो। नेपाली चिया, अलैँची तथा तरकारीले भारतीय बजारमा सहज प्रवेश पाउन नसकेको समस्या पनि भ्रमणको एजेन्डामा समेटिन नसकेको पोखरेलले बताए। सन् १९५० को सन्धिको विषयमा समेत प्रधानमन्त्रीले छलफल अघि बढाउन नसकेको उनको टिप्पणी थियो। प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि त्यसको कार्यान्वयनमा भने उनले आशङ्का व्यक्त गरे। विगतमा पनि यस्ता सहमति भए पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै उनले भने, ‘एयर रुटको सहमति सकारात्मक भएको छ । तर कार्यान्वयन प्रमुख कुरा हो । पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन।’ पोखरेलले विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो धारणामा परिवर्तन आएको देखिएको बताए। विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा वर्तमान सरकारले समेत स्वीकार गरेको उनको भनाइ थियो।
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





