नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ सशक्त र समृद्ध नेपालको पक्षमा रहेको बताएका छन्। नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको द्विपक्षीय वार्तापछि सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको विकास यात्रामा भारतको साथ निरन्तर रहने बताएका हुन्। प्रधानमन्त्री बनेपछि पहिलो द्विपक्षीय विदेश भ्रमणका क्रममा भारत आएका समकक्षी शाहलाई स्वागत गर्न पाउँदा आफू खुसी भएको मोदीले बताए। उनले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा शाहले गरेको सम्बोधनको स्मरण गर्दै त्यतिबेलै उनको दूरदर्शिताको झलक देखेको उल्लेख गरे। ‘बालेनले सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्नुभएको थियो, त्यतिबेला नै मैले उहाँको दूरदर्शिता देखेको थिएँ,’ मोदीले भने, ‘नेपालको भविष्य र भारत नेपाल सम्बन्धको लागि उनको क्लियर भिजन र कमिटमेन्टको महसुस गरेको छु।’ हैदराबाद हाउसमा भएको केही घण्टाको छलफलका क्रममा आफूले प्रधानमन्त्री शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धका विषयमा स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता पाएको मोदीले बताए। ‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको क्लियर भिजन र कमिटमेन्ट महसुस गरेको छु,’ उनले भने। नेपालका जनताले दिएको पछिल्लो ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र अपेक्षा प्रतिबिम्बित गरेको मोदीको भनाइ थियो। उनले भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ सहभागी हुँदै आएको र आगामी दिनमा पनि नेपालसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘भारत सधैँ सशक्त र समृद्ध नेपालको पक्षमा छ,’ मोदीले भने, ‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आजको वार्तामा केही महत्त्वपूर्ण निर्णय लिएका छौँ।’ यसअघि दुवै देशका प्रधानमन्त्रीबीच वान–टु–वान र प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तापछि विभिन्न क्षेत्रका समझदारीपत्र आदानप्रदान गरिएको थियो। साथै अयोध्या–जनकपुर ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा तथा अन्य कनेक्टिभिटी र ऊर्जा सम्बन्धी परियोजनाको शुभारम्भ गरिएको थियो।
बालेनको प्रशंसा गर्दै मोदीले भने– नेपालको भविष्यबारे उहाँको क्लियर भिजन पाएँ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






