Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै
Photo / Coverage: पर्दाफास

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति गरेपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताए । उनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा अन्य साना व्यवसायीलाई राहत पुग्न थालेको छ । ‘बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको थियो । अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्,’ अध्यक्ष तामाङले भने । गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए । लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाढीपछि अवरुद्ध भएको आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताए । निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि गोसाइँकुण्ड आउने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको बताए । बाढीले बाटोघाटोमा क्षति गरेपछि केही समय पर्यटकीय गतिविधि प्रभावित भएको उनको भनाइ छ । स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको सङ्ख्या बढ्दै गएको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहराको अवसरमा मात्र तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेका उनले बताए । पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रको पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने व्यवसायी घलेको भनाइ छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ । कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहँदै आएको छ । हिन्दू धर्मग्रन्थअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ । त्रिशूल प्रहारबाट पानी निस्किएको विश्वासका आधारमा यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ । स्थानीय समुदायमा गोसाइँकुण्डलाई विभिन्न नामले चिनिन्छ । तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन् । गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड रहेका छन् । यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणका विषय हुन् । गोसाइँकुण्ड क्षेत्रको पारिस्थितिकीय महत्त्वलाई ध्यानमा राख्दै २०६४ साल असोज ५ गते (सन् २००७ सेप्टेम्बर २३) रामसार सूचीमा सूचीकृत गरिएको हो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन् । गोसाइँकुण्ड नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ। विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म
OthersJust now

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

काभ्रेको कटुञ्जेमा अभावबीच हुर्किएका सागर धिताल अहिले जर्मनीको म्युनिखमा चिकित्सकका रूपमा कार्यरत छन्। संघर्ष गर्दै छात्रवृत्तिको सहारामा उनले जर्मनीमा चिकित्सा अध्ययन पूरा गरे। बिरामीको उपचारसँगै अध्यापन र अनुसन्धानमा संलग्न उनी गाउँको शिक्षा र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पनि सक्रिय छन्। ...

अनलाइन खबर
नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी
OthersJust now

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो । रायमाझी ...

पर्दाफास
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play