बर्दिया । बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाकका अनुसार क्रसिङका क्रममा मिनीफोर्स गाडी तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनापछि १७ जना घाइतेलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल र नेपालगञ्ज पठाइएको थियो । उपचारका क्रममा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–५ चिल्लरियाका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा सवार उनका ५५ वर्षीय बुबा दलबहादुर खत्री रहेका छन् । दुवैलाई बर्दिया जिल्ला अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मिनीफोर्स चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने केही सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार मधुवन नगरपालिका–६ की ४४ वर्षीया रेखा कार्की, वडा नम्बर ९ की २६ वर्षीया ललिता चौधरी र २८ वर्षीया सृजना मगर, वडा नम्बर ७ की ३३ वर्षीया ऋतु चौधरी तथा वडा नम्बर ५ का १८ वर्षीय सुरजकुमार राजी घाइते भएका छन् । त्यस्तै, मधुवन नगरपालिका–७ का १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । बारबर्दिया नगरपालिका–२ का ७७ वर्षीय प्रसाद थारू, गुलरिया नगरपालिका–१० की १९ वर्षीया अर्तना पाठक र १५ वर्षीया अनन्या पाठक तथा गुलरिया नगरपालिका–१ का १८ वर्षीय यमलाल थारू पनि घाइते भएका छन् । यसैगरी बाँकेको कोहलपुर नगरपालिका–३ की ३४ वर्षीया ईश्वरी न्यौपाने र वडा नम्बर ११ की २३ वर्षीया अञ्जली घिमिरे तथा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ की २७ वर्षीया लक्ष्मी विक र चार वर्षीय अनमोल विक घाइते भएका छन् । उनीहरूमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बर्दियामा मिनीफोर्स र भारतीय मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु, १५ घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






