काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारीमा रहेको खबर सार्वजनिक भएसँगै देशमा पुनः राजनीतिक तनाव चुलिएको छ । हसिनाको गृहजिल्ला गोपालगञ्जमा आइतबार उनको पार्टी अवामी लिगका समर्थक र प्रहरीबीच हिंसात्मक झडप भएको छ । प्रदर्शनकारीले प्रहरीका सवारीसाधनमा आगजनी गर्नुका साथै प्रहरी चौकी तथा अन्य संरचनामा तोडफोड गरेका छन् । समाचारहरुका अनुसार सयौँ प्रदर्शनकारी हँसिया र भालाजस्ता हतियारसहित सडकमा उत्रिएका थिए । उनीहरूले प्रहरीको बख्तरबन्द गाडीमा आगो लगाएका छन् भने प्रहरी चौकीमा तोडफोड गरेका छन् । प्रहरीको अवरोध तोड्दै सडक बन्द गर्नुका साथै हसिना सरकार ढलेको दिन अर्थात् सन् २०२४ अगस्ट ५ को सम्झनामा बनाइएको स्मारकसमेत भत्काएका छन् । अवामी लिगका गोपालगञ्ज जिल्ला नेता इलियास हकले हसिनालाई देश फर्काउन नसकेसम्म सडक आन्दोलन जारी रहने बताएका छन् । प्रदर्शनमा महिला कार्यकर्तासमेत सहभागी भएका थिए । भारतमा निर्वासनमा रहेकी ७९ वर्षीया पूर्वप्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि राजनीतिक वातावरण थप तनावपूर्ण बनेको हो । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले १५ वर्ष लामो शासन अन्त्य गरेपछि उनी भारत भागेकी थिइन् । हसिनालाई सन् २०२५ नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले प्रदर्शनकारीमाथिको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । उनले भने उक्त मुद्दा र फैसलाको वैधता अस्वीकार गर्दै आएकी छन् । हसिनाले मृत्युदण्डको जोखिम भए पनि स्वदेश फर्किने निर्णयबाट पछि नहट्ने बताएकी छन् । एएफपीसँगको इमेल अन्तर्वार्तामा उनले आफू फर्किँदा जोखिम रहेको थाहा भए पनि देश छाडेर बसिरहन नसक्ने बताएकी हुन् । उनले बंगलादेश फर्कनका लागि नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया अघि बढाएकोसमेत जानकारी दिएकी छन् । यता बंगलादेश सरकारले भने हसिनालाई भारतबाट फिर्ता ल्याउन कूटनीतिक तथा कानुनी प्रक्रिया अघि बढाएको छ । कानुनमन्त्री एमडी असदुज्जमानले उनको सुपुर्दगीका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको र अब निर्णय भारतको हातमा रहेको बताएका छन् । भारतले सुपुर्दगीसम्बन्धी अनुरोध प्राप्त भएको स्वीकार गरे पनि अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरेको छैन । यसैबीच गोपालगञ्जमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यालयमा आगजनी भएको छ । घटनापछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । साथै, थप हिंसा नियन्त्रणका लागि सीमा सुरक्षा बल (बीजीबी) परिचालन गरिएको छ । प्रधानमन्त्री तारिक रहमानले आइतबार मन्त्रिपरिषद् बैठकमा सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । उनले पार्टीका नेताहरूसँग पनि भेट गरेका छन् । गृहमन्त्री सलाहुद्दिन अहमदले हिंसा, तोडफोड र अस्थिरता फैलाउने प्रयास रोक्न सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनपछि बंगलादेशमा राजनीतिक ध्रुवीकरण कायम छ । संयुक्त राष्ट्रसंघका अनुसार तत्कालीन सरकारविरुद्धको आन्दोलन र त्यसक्रममा भएको दमनमा करिब १ हजार ४ सय जनासम्मको मृत्यु भएको थियो । अवामी लिगका गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ भने पार्टीले पछिल्लो निर्वाचनमा सहभागी हुने अवसरसमेत पाएको थिएन ।
बंगलादेशमा फेरि किन भड्किँदैछ हिंसा ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






