काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा तेस्रो जित निकालेपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको कमजोर पक्ष फिल्डिङ रहेको बताएका छन् । पोखरा एभेन्जर्सलाई पराजित गरेपछि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले टोलीले समग्रमा राम्रो खेलिरहेको भए पनि फिल्डिङमा भएका कमजोरीका कारण पछि परेको बताए । आफ्ना खेलाडीले मैदानमा उत्कृष्ट प्रयास गरिरहेको विश्वास व्यक्त गर्दै उनले भिजेको मैदानका कारण पनि केही समस्या भएको उल्लेख गरे । तर, त्यसलाई बहाना बनाउन नहुने र टोलीले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्ने उनको भनाइ थियो । सन्दीपले लिग चरणको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाउने विश्वाससमेत व्यक्त गरे । पोखराविरुद्धको खेलमा पनि टोली हारको नजिक पुगेको अवस्थामा इसुरु उडानाले उत्कृष्ट ब्याटिङ गरेको उनले बताए । आन्द्रे रसेलजस्ता खेलाडीको अभाव टोलीले महसुस गरे पनि उडानाले उनको स्थानमा राम्रो प्रदर्शन गरेको सन्दीपको भनाइ थियो । आफ्नो बलिङबारे बोल्दै सन्दीपले अघिल्लो खेलमा विकेट लिन नसके पनि क्षमतामाथि विश्वास कायम रहेको बताए । उनले अघिल्लो खेलमा पनि आफूले राम्रो बलिङ गरेको तर विकेट हात पार्न नसकेको उल्लेख गरे । पोखराविरुद्ध भने ह्याट्रिकसहित ६ विकेट लिएर आफ्नो क्षमता प्रमाणित गरेका सन्दीपले टोलीको समग्र प्रदर्शन सुधार गर्दै प्लेअफ यात्रा तय गर्ने लक्ष्य रहेको बताएका छन् ।
फिल्डिङमा चुक्दा विराटनगर पछि परेको सन्दीपको स्वीकारोक्ति, प्लेअफ पुग्ने विश्वास

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






