काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफ्नो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन् । निकटस्थहरूलाई उनीहरूको सम्बन्धबारे जानकारी भए पनि दुवैले यसलाई सार्वजनिक गरेका थिएनन् । उनीहरूको टीकाटालोसमेत भइसकेको छ । ढकालले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर जाने तयारी गरेका छन् । विवाहको तयारी विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा सुरु भइसकेको छ । विवाह समारोह भने झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने बताइएको छ । रास्वपाको राजनीतिमा सक्रिय दुवै नेताको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । ढकाल पार्टीका संस्थापक महामन्त्री हुन् भने डाँगी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । उनी २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै मुकुल र निशा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






