एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस २०’को पछिल्लो ‘वीकेन्डका वार’ एपिसोडमा गेमर तन्मय सिंह (स्काउटओपी)ले आफ्नो व्यक्तिगत जीवनबारे महत्त्वपूर्ण खुलासा गर्नुभएको छ । उहाँले काशवी हिरानन्दानी आफ्नी प्रेमिका नभई मंगेतर भएको बताउनुभएको छ । कार्यक्रमका प्रस्तोता सलमान खानले स्काउट र लवप्रीत कौर गिलबीचको सम्बन्धबारे प्रश्न गरेपछि उहाँले यस्तो खुलासा गर्नुभएको हो । सलमानले स्काउटका मनमा लवप्रति प्रेमभावना छ कि छैन भनेर सोध्दा उहाँले त्यसको खण्डन गर्दै लवलाई घरभित्रकी अन्य प्रतिस्पर्धीमध्ये एक भएको बताउनुभयो । सलमानले घरबाहिरको सम्बन्ध र परिस्थितिबारे चिन्ता भइरहेको हुनसक्ने बताएपछि स्काउटले काशवी आफ्नो मंगेतर भएको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई हरेक पल यही चिन्ता रहन्छ । उनी मेरी मंगेतर हुन् । मैले आजसम्म कतै यो कुरा बताएको थिइनँ । मेरो कुनै कामले उनलाई एक प्रतिशत पनि नराम्रो लाग्यो भने मलाई पछुतो र अपराधबोध हुन्छ ।’ स्काउटका अनुसार काशवीले पछिल्लो पाँच–छ वर्षदेखि उनको जीवनमा धेरै साथ र सहयोग दिँदै आउनुभएको छ । कहिलेकाहीँ गल्ती भए पनि त्यसलाई सुधार्ने प्रयासमा आफू मानसिक रूपमा दबाबमा पर्ने गरेको उहाँले बताउनुभयो । यसै एपिसोडमा सलमानले स्काउटले आफ्नो टाउको मुन्डन गरेको घटनाबारे पनि प्रश्न गर्नुभएको थियो । स्काउटले आफूले कपाल ट्रिम गर्ने क्रममा गल्तीले त्यस्तो भएको जवाफ दिनुभयो । तर, सलमानले उहाँको कपाल काट्ने तरिकाबाट आफूले सबै कुरा बुझिसकेको भन्दै प्रतिक्रिया दिनुभएको थियो । यसअघि स्काउटले भावुक अवस्थामा टाउको मुन्डन गरेपछि उहाँकी आमाले सामाजिक सञ्जालमार्फत अडियो सन्देश सार्वजनिक गर्नुभएको थियो । उहाँले कार्यक्रमका सम्पादित प्रोमोका कारण दर्शकमा घटनाबारे गलत धारणा बन्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले विगतमा पनि अधुरो प्रोमोका कारण दर्शकले गलत अर्थ लगाउनसक्ने विषयमा सलमान खानले नै स्पष्ट पारेको घटना स्मरण गराउनुभएको थियो । स्काउटकी आमाले शो सकिएपछि छोराले आफ्नो काम र व्यक्तिगत सम्बन्धमा फर्किनुपर्ने बताउँदै सम्बन्धबारेका प्रश्नको जवाफ पटक–पटक दिँदा पनि उही विषय दोहोर्याइएकोमा असन्तुष्टि जनाउनुभएको थियो । विभिन्न सञ्चारमाध्यममा प्रकाशित रिपोर्टअनुसार उहाँहरू पाँच वर्षभन्दा लामो समयदेखि सम्बन्धमा हुनुहुन्छ । रियालिटी शोमा सहभागी हुनुअघि काशवीले स्काउटलाई लवसँगको सम्बन्धबाट टाढा रहन र आफ्नै खेलमा ध्यान केन्द्रित गर्न सुझाव दिएको बताइएको छ । स्काउट र लवप्रीतबीचको निकटता, स्काउटको भावनात्मक प्रतिक्रिया र काशवीसँगको सम्बन्धबारे भएको पछिल्लो खुलासाले ‘बिग बोस २०’ को चर्चा थप चुलिएको छ ।
प्रेमिका काशवी मंगेतर !

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






