काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किनुभएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएका मिश्रीले काठमाडौं बसाइका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक भेटवार्ता गर्नुभएको छ । भ्रमणको दोस्रो दिन बिहीबार भारतीय विदेश सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा नेपाल-भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध आयाममा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा भएको विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्रीसँगको भेटमा भारत भ्रमणको सम्भावित कार्यसूची, प्राथमिकता र तयारीका विषयमा समेत केन्द्रित रहेर छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर दोस्रो साता भारत भ्रमणमा जाने तयारी भइरहेको छ । यद्यपि, भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । भ्रमण निश्चित भएमा प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुनेछ । भारतीय विदेश सचिव मिश्रीले नेपाल भ्रमणको पहिलो दिन परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नुभएको थियो । बुधबार नेपाल र भारतका परराष्ट्र सचिवबीच भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा पनि प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा उच्चस्तरीय भ्रमण आदानप्रदान, सम्पर्क सञ्जाल, व्यापार, विकास सहकार्य, ऊर्जा तथा जनस्तरको सम्बन्धलाई प्राथमिकता दिइएको थियो । भारतीय दूतावासले समेत आगामी उच्चस्तरीय भेटघाटको अवसर उपयोग गर्दै नेपालसँगको बहुआयामिक साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ । मिश्रीले नेपाल–भारत सम्बन्धलाई विशेष प्रकृतिको साझेदारीका रूपमा व्याख्या गर्दै आगामी दिनमा यसलाई थप अघि बढाउनुपर्ने विभिन्न पहलका विषयमा छलफल भइरहेको बताउनुभएको थियो । विदेश सचिव मिश्रीको भ्रमणले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि राजनीतिक तथा कूटनीतिक वातावरण तयार गर्न, सम्भावित छलफलका विषय पहिचान गर्न र दुवै पक्षका अपेक्षाबारे प्रारम्भिक समझदारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ । भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, हवाई सम्पर्क, विकास सहायता तथा लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयमा छलफल भएको बताइएको छ । तर, भारत भ्रमणको एजेण्डा र अपेक्षा ठूलो देखिए पनि नेपालका तर्फबाट ठोस प्रस्ताव तथा परियोजनामा रूपान्तरण गर्ने आवश्यक गृहकार्य अझै पूरा हुन बाँकी रहेको देखिन्छ । प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपालले स्पष्ट प्राथमिकता, कार्यान्वयनयोग्य परियोजना र ठोस प्रस्तावसहित तयारी गर्नुपर्ने देखिन्छ । त्यसो हुन सकेमा भारतीय विदेश सचिवको यो भ्रमणले दुई देशबीचको कूटनीतिक संवादलाई नयाँ गति दिनुका साथै द्विपक्षीय सम्बन्धलाई परिणाममुखी दिशामा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।आर्थिक सहयोग प्रमुख प्राथमिकतामा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणमा नेपालले आर्थिक सहयोगलाई प्रमुख प्राथमिकतामा राख्ने तयारी गरेको छ । नेपालका अर्थ र परराष्ट्र मन्त्रालयबीच भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग माग्ने विषयमा प्रारम्भिक छलफल भएको बताइएको छ । तर, नेपालले सहायता माग्ने आधार, बन्ने परियोजनाहरू अझै स्पष्ट रूपमा पहिचान गर्न सकेको छैन । विगतमा भारतले नेपाललाई उपलब्ध गराएका क्रेडिट लाइनको पूर्ण उपयोग हुन नसकेको अनुभव छ । परियोजना छनोट, कार्यान्वयन क्षमता र भारतीय सामग्री प्रयोगसम्बन्धी सर्तका कारण प्रतिबद्ध रकमसमेत प्रभावकारी रूपमा खर्च हुन सकेको छैन । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि भारतसँगको आर्थिक सहयोगको अर्को महत्त्वपूर्ण विषय हो । भारतले नेपाललाई पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न तयार रहेको संकेत दिएको छ । तर, सहयोगको परिमाण, स्वरूप र कार्यान्वयनको मोडालिटी भने अन्तिम भइसकेको छैन । नेपाल र भारतबीचको ऊर्जा तथा जलस्रोत सहकार्यमा सबैभन्दा चर्चित तर लामो समयदेखि अल्झिएको परियोजना पञ्चेश्वर बहुउद्देश्यीय आयोजना हो । महाकाली सन्धिपछि अघि बढाइएको यो आयोजना दुवै देशका लागि ऊर्जा उत्पादन, सिँचाइ र बाढी नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । तर, आयोजना निर्माण, लागत बाँडफाँट, पानीको उपयोग, विद्युत्को मूल्य र लाभको वितरणमा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ । भोटेकोशी विपत्पछिको पुनर्निर्माणमा सघाउने इच्छाभारतले विशेष गरी रसुवाको भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतले चासो दिएको छ । दुईदिने भ्रमणको क्रममा भारतीय विदेश सचिव मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपाली पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारत सहयोग गर्न तयार रहेको बताउनुभएको छ । परराष्ट्र सचिवसँगको द्विपक्षीय छलफलमा मिश्रीले बाढीले नेपालको पूर्वाधारमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै पुनर्निर्माणका लागि आवश्यक सहयोग तथा परियोजनासम्बन्धी प्रस्तावमा भारतले विचार गर्ने उल्लेख गर्नुभएको छ । मिश्रीले भोटेकोशी बाढीपछि भारतले सहयोग उपलब्ध गराएको स्मरण गर्दै अब पुनर्निर्माण र पुनःस्थापनाको चरणमा पनि सहकार्य गर्न भारत इच्छुक रहेको स्पष्ट पार्नुभयो । नेपालको नेतृत्वसँग थप विस्तृत छलफल गर्न भारत तयार रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘नेपालका पूर्वाधारमा ठूलो क्षति र विनाश पुगेको हामीले बुझेका छौँ । सधैँझैँ पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा आवश्यक सहयोग वा परियोजनासम्बन्धी प्रस्तावहरूमा विचार गर्न भारत तयार रहेको छ ।’
प्रधानमन्त्री शाहलाई भ्रमणको बाटो खोल्दै फर्किए मिश्री

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






