काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुमधुर, बलियो र मजबुत बनाउने अपेक्षा गर्नुभएको छ । भारत भ्रमणका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले यस्तो बताउनुभएको हो । सरकार र पार्टीका तर्फबाट प्रधानमन्त्रीलाई बिदाइ गरिएको जानकारी दिँदै उहाँले दुईदिने औपचारिक राजकीय भ्रमणले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । ‘दुईदिने औपचारिक राजकीय भ्रमण असाध्यै उपलब्धिमूलक हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ । राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई देशबीचको सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनताबीचको समग्र सम्बन्ध अझ उचाइमा पुग्ने, सुमधुर हुने र बलियो बन्ने विश्वास लिएका छौँ,’ उहाँले भन्नुभयो । भ्रमणका क्रममा हुने भेटघाट र समझदारीहरू नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने दिशामा केन्द्रित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति, समकक्षी प्रधानमन्त्री, विदेशमन्त्रीलगायत उच्च अधिकारीसँग भेटघाट गर्नुका साथै निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिनुभयो । ‘समझदारीको तयारी पनि जुन रूपमा गरिएको छ, ती समझदारीहरू सबैभन्दा पहिला नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशबीचको सम्बन्ध मजबुत बनाउने दिशामा हुन्छन् भन्ने विश्वास लिएका छौँ,’ उहाँले भन्नुभयो । प्रवक्ता खरेलका अनुसार प्रधानमन्त्री शाहले भारत भ्रमणको तयारीका विषयमा पार्टी सभापति रवि लामिछानेसँग समेत छलफल गर्नुभएको थियो । छलफलका क्रममा लामिछानेले दुई देशबीचको सम्बन्ध थप सुमधुर र मजबुत बनाउन तथा भ्रमणलाई उपलब्धिमूलक बनाउन सुझाव दिनुभएको थियो । प्रधानमन्त्रीले सरकारका विभिन्न मन्त्रालय, कूटनीतिक निकाय तथा पार्टीसँग सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श गरेर भ्रमणको तयारी अघि बढाउनुभएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री शाहसहित ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेको हो । प्रधानमन्त्रीलाई बिदाइ गर्न ऊर्जा मन्त्री तथा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेल विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : रास्वपा प्रवक्ता खरेल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






