काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शनिबार अबेर साँझ सम्पन्न संघको ५२औं साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदका प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई १६ मतले पछि पार्दै जबरा अध्यक्षमा निर्वाचित हुनुभएको हो । संघको नयाँ कार्यसमितिका अन्य सदस्य भने निर्विरोध चयन भएका छन् । चलचित्र प्रदर्शकको खुला समूहबाट दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी सदस्यमा निर्विरोध हुनुभएको छ । त्यसैगरी, चलचित्र वितरकको प्रतिनिधित्व गर्दै करण श्रेष्ठ र गोविन्दबहादुर शाही कार्यसमिति सदस्य बन्नुभएको छ । प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेस प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन हुनुभएको छ । नेपाल चलचित्र संघ नेपाली चलचित्रका प्रदर्शक तथा वितरकहरूको साझा संस्था हो । चलचित्र प्रदर्शन र वितरण व्यवसायको प्रवर्द्धन, संरक्षण तथा विकासका लागि क्रियाशील संघको नयाँ नेतृत्वले नेपाली चलचित्र क्षेत्रले भोगिरहेका समस्या र चुनौतीको समाधानमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । नयाँ कार्य समितिसामु चलचित्र प्रदर्शन तथा वितरण व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउँदै समग्र नेपाली चलचित्र उद्योगको विकासका लागि सहकार्य र समन्वय गर्ने चुनौतीसमेत रहेको छ ।
प्रज्वल शमशेर जबराको नेतृत्वमा नेपाल चलचित्र संघ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






