पोखरा । पोखराको रात्रिकालीन पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपाली मौलिक लोकसंस्कृतिको संरक्षणका लागि रात्रिकालीन व्यवसाय २४ घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन युवा व्यवसायी होम गुरुङले सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष तथा कास्की लोकदोहोरी व्यवसायी समितिका संस्थापक अध्यक्ष गुरुङले गृहमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा यस्तो माग गर्नुभएको हो । पोखराका दोहोरी साँझलगायत रात्रिकालीन व्यवसायले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली कला, संस्कृति र लोकसंगीतसँग जोड्नुका साथै सयौँ युवालाई रोजगारी प्रदान गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ । व्यवसाय सञ्चालनको समय सीमित हुँदा लगानीको प्रतिफल प्राप्त गर्न कठिनाइ हुनुका साथै पर्यटकलाई पर्याप्त सेवा दिन नसकिएको भन्दै उहाँले आवश्यक सुरक्षा व्यवस्था र कानुनी मापदण्डको पूर्ण पालना गर्ने गरी व्यवसाय सञ्चालनको समयावधि बढाउन आग्रह गर्नुभएको छ । रात्रिकालीन व्यवसायलाई व्यवस्थित रूपमा २४ घण्टा सञ्चालन गर्न सकिए पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास, राजस्व वृद्धि तथा युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने गुरुङको विश्वास छ । ‘हामी व्यवसाय मात्र चलाउन चाहँदैनौँ, पोखराको पर्यटन, नेपाली लोकसंस्कृति र युवाको भविष्य निर्माणमा पनि योगदान दिन चाहन्छौँ,’ उहाँले खुला पत्रमा उल्लेख गर्नुभएको छ ।
पोखराका रात्रिकालीन व्यवसाय २४ घण्टा सञ्चालन गर्न युवा व्यवसायी गुरुङको माग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






