काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मलेसिया रोजगारीमा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरेको आरोपमा पक्राउ परेका अर्याललाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थपको माग गरेको थियो । सीआईबीले अर्याललाई भारतको कोलकाताबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । उनको घरबाट अनुसन्धानका लागि दुईवटा ल्यापटपसमेत बरामद गरिएको छ । सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार बरामद ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । करिब १५ महिना जिम्मेवारी सम्हालेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । यस प्रकरणमा सीआईबीले गत मंसिर ४ गते अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।
पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






