काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार विशेष अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा मुद्दाको पेसी तोकिएको हो। यसअघि अदालतले मुद्दामा प्रमाण बुझ्ने आदेश दिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले सार्वजनिक पदमा बहाल रहँदा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले सोही रकमलाई बिगो कायम गरी २०८२ जेठ १९ गते विशेष अदालतमा अभियोगपत्र दर्ता गराएको थियो। अभियोगपत्रअनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ माघ १० गतेसम्म सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका थिए। उनको कुल आय र व्ययको तुलना गर्दा उक्त रकम बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगको निष्कर्ष छ। आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीका नाममा खरिद गरिएको जग्गा, निर्माण गरिएको घर तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






