काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण बीचमै रोकिएको नाटक ‘वीर गणेशमान’ यही मंसिर ४ गते शुक्रबारदेखि पुनः मञ्चन हुनेभएको छ । गणेशमान सिंहको जीवन, संघर्ष र राजनीतिक योगदानमा आधारित नाटक मंसिर १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । नाटकको पुनः मञ्चनअघि निर्माण पक्षले यसको औपचारिक ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक गरेको छ । नेपाली रंगमञ्चमा नाटकको ट्रेलर निर्माण गरी औपचारिक रूपमा सार्वजनिक गर्ने अभ्यास विरलै देखिने भए पनि ‘वीर गणेशमान’ को ट्रेलर दर्शकमाझ ल्याइएको हो । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन वरिष्ठ रंगकर्मी अशेष मल्लले गर्नुभएको हो । स्क्रिप्ट सम्पादन प्राडा.सावित्री कक्षपतीले गर्नुभएको छ । नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको निर्माण पक्षले जनाएको छ । सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका क्रान्तियोद्धा लौहपुरुष गणेशमान सिंहको जीवन र संघर्षलाई नाटकमा प्रस्तुत गरिएको छ । १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उहाँले गरेको संघर्ष, जन्मकैदको सजाय पाएपछि भद्रगोल जेलबाट भागेको घटना तथा २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसंग नाटकका मुख्य विषयवस्तु रहेको जनाइएको छ । करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो पाँच दशक लामो नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकको परम्परागत शैलीभन्दा फरक यथार्थपरक प्रस्तुति अपनाउनुभएको छ । नाटकमा गणेशमान सिंहको भूमिकामा अभिनेता अभयराज बराल देखिनुभएको छ । यसअघि भएको मञ्चनमा उहाँको अभिनयले दर्शकबाट प्रशंसा पाएको थियो । बरालको शारीरिक बनावट र अभिनयमा गणेशमान सिंहकै झल्को देखिएको भन्दै दर्शकले प्रशंसा गरेका थिए ।नाटकमा नुषा लिङ्देन लिम्बु, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्तीमगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार, रोलेक्स राईलगायतका कलाकारको अभिनय छ । गत भदौमा सर्वनाम थिएटरमै आयोजित नाटकको प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले नयाँ पुस्ताले नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंहको योगदान बुझ्न नाटक हेर्नुपर्ने बताउनुभएको थियो । पूर्ण प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्ष र त्यसमा गणेशमान सिंहको भूमिकाबारे जानकारी लिन नाटक उपयोगी हुने उहाँको भनाइ थियो ।
पुनः मञ्चन हुँदै ‘वीर गणेशमान’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






