सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै एपीएफले पहिलो संस्करणमै उपाधि आफ्नो नाममा लेखाएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । अतिरिक्त समयको अन्तिम अर्थात् ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपीएफको जित सुनिश्चित भयो । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले पुरस्कारबारे जानकारी दिएका हुन् । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा कात्तिक २८ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी थिए ।
पहिलो संस्करणकै उपाधि एपीएफलाई, पुलिस २–० ले पराजित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






