वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा गत कात्तिक महिनामा ११८ वटा अपराधका घटना दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा तथा विभिन्न मुद्दाका फरार प्रतिवादी गरी १२२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिकमा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीका आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले उक्त अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ८५ जना प्रतिवादी पनि पक्राउ परेको बताए । अदालतको फैसलाअनुसार उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्न बाँकी थियो । त्यस्तै, कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैङ्किङ कसुरका १४ तथा ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन् ।लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले कात्तिकमा १४ वटा मुद्दा दर्ता गरी संलग्नताको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुलसमेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ । लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले गत महिना ३१ वटा कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई सचेत गराएको छ । अपराध न्यूनीकरण र शान्तिसुरक्षा कायम गर्न प्रहरीले जिल्लाका विभिन्न स्थानमा सीसीटीभी जडान, क्युआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जालको निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई तीव्रता दिएको जनाएको छ । त्यस्तै, मोबाइल क्विक रेस्पोन्स टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रातिको समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । यसैबीच, प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिको विगतको संलग्नता र गतिविधिका आधारमा ३५ वटा प्रोफाइल तयार गरेको छ । आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, निगरानी र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोफाइल तयार गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
पर्सामा एक महिनामै ११८ अपराधका घटना, १२२ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



.jpg)


