लमजुङ । बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहेकी उनले यस अवधिमा दाजुभाइलाई भाइटीका लगाउन पाएकी छैनन् । “यस वर्ष घर फर्किएर टीका लगाउने इच्छा भए पनि पूरा हुन सकेन । धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको”, उनले भनिन् । यो वर्ष त पक्कै घर फर्किएर टीका लगाउन पाउँछु भन्ने लागेको थियो तर यसपटक पनि सम्भव भएन । तिहार नेपाली समाजमा उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । यस पर्वको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र अटुट सम्बन्धको प्रतीक मानिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र मखमली माला लगाइदिने परम्परा छ । तर रोजगारी र पारिवारिक जिम्मेवारीका कारण परदेशिएका धेरै नेपालीका लागि भाइटीका प्रत्यक्ष भेटघाटभन्दा सम्झना र शुभकामना आदानप्रदानमै सीमित हुन थालेको छ । “चाडपर्व आउँदा घरपरिवार र दाजुभाइको धेरै सम्झना आउँछ । प्रत्यक्ष भेटेर टीका लगाउन नपाए पनि टाढैबाट सम्झना गर्दै शुभकामना र आशीर्वाद पठाएकी छु”, उनले भनिन् । दोर्दी गाउँपालिकाका अमृत घिमिरेको अनुभव पनि उस्तै छ । उनी तीन वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा छन् । यस अवधिमा बहिनीसँग भाइटीका लगाउन नपाएको पनि धेरै वर्ष भइसकेको छ । “तीन वर्षदेखि बहिनीसँग टीका लगाउन पाएको छैन । अरूले भाइटीका लगाएको देख्दा आफ्नो निधार खाली हुँदा निकै नरमाइलो लाग्छ”, उनले भने । घरमा परिवारका सदस्यले भाइटीका लगाएको दृश्य मोबाइलमार्फत हेर्ने र कुराकानी गरेर चित्त बुझाउने गरेको उनी बताउँछन् । यस वर्षसमेत प्रत्यक्ष सहभागी हुन नपाउने भएपछि भिडियो कलमार्फत परिवारसँग जोडिएर पर्वको खुसी साट्ने उनको सोच छ । आठ वर्षदेखि अमेरिकामा बस्दै आएका बेँसीसहरका पूर्ण श्रेष्ठले पनि यस अवधिमा दिदीको हातबाट भाइटीका लगाउन पाएकी छैनन् । रोजगारी गर्दै परिवारको भविष्य निर्माण गर्ने उद्देश्यले अमेरिका पुगेका उनी विभिन्न कारणले नेपाल फर्कन नपाउँदा हरेक वर्ष तिहारमा दिदी र घरपरिवारको सम्झनाले सताउने गरेको बताउँछन् । उनले भने, “तिहार आउँदा आफ्नी दिदीको धेरै सम्झना आउँछ । वर्षौँदेखि उहाँको हातबाट टीका लगाउन पाएको छैन । आफ्नो संस्कार र संस्कृति सम्झिँदा घरपरिवारसँगै बसेर तिहार मनाएका पुराना दिनहरू आँखा अगाडि आउँछन् । मजस्तै धेरै दाजुभाइ तथा दिदीबहिनी रोजगारीका कारण परिवारबाट टाढा रहनुपरेको छ”, उनले भने । नेपालमै रहेका बेँसीसहरका धनलाल श्रेष्ठको भाइटीका पनि तीन वर्षदेखि अधुरो छ । रोजगारीका सिलसिलामा विदेशिएकी बहिनी दुई वर्षपछि फर्किने आश्वासन दिएर गए पनि तीन वर्ष बितिसक्दा घर फर्कन सकेकी छैनन् । आफ्नै बहिनीको हातबाट मात्र टीका लगाउँदै आएका उनले अरू कसैको हातबाट टीका लगाउन मन नगरेपछि तीन वर्षदेखि भाइटीकामा निधार खाली राख्दै आएका छन् । “दुई वर्षपछि आउँछु भनेर विदेशिएकी बहिनी तीन वर्ष बितिसक्दा पनि फर्किएकी छैनन् ।” म सधैँ आफ्नै बहिनीको हातबाट टीका लगाउँदै आएको मान्छे हुँ । उनीबाहेक अरूको हातबाट टीका लगाउन मन लागेन । त्यसैले अहिलेसम्म लगाएको छैन । “यस वर्ष पनि निधार खाली नै रहने भयो । बहिनी फर्किएपछि अर्को वर्ष उनकै हातबाट टीका लगाउने प्रतीक्षामा छु”, उनले भने । यस्तै अनुभवले वैदेशिक रोजगारी र बसाइँसराइले नेपाली परिवारको चाडपर्व मनाउने शैलीमा ल्याएको परिवर्तन झल्किन्छ । एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर विदेशिएका दाजुभाइ तथा दिदीबहिनी छन् भने अर्कातिर घरमा बसेर उनीहरूको प्रतीक्षामा रहेका आफन्त छन् । कतिपयले नजिकका आफन्तको अभावमा धर्म दाजुभाइ वा धर्म दिदीबहिनीसँग सम्बन्ध गाँसेर भाइटीकाको परम्परालाई निरन्तरता दिइरहेका छन् । भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली माला, ओखर, विमिरो र तेलको घेरालगायतका विधि पूरा गर्ने परम्परा छ । प्रविधिको विकाससँगै टाढा रहेका आफन्तले भिडियो कलमार्फत कुराकानी र शुभकामना आदानप्रदान गर्ने गरेका छन् । तर दिदीबहिनीको हातबाट निधारमा टीका लगाउने र परिवारसँगै बसेर पर्व मनाउने प्रत्यक्ष अनुभूतिको स्थान प्रविधिले लिनसकेको छैन । रोजगारी र पारिवारिक जिम्मेवारीले भौगोलिक रूपमा टाढा बनाए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मियता कमजोर भएको छैन । कसैका लागि यस वर्षको भाइटीका भिडियो कलमा सीमित हुनेछ भने कसैको निधार आफ्नै दिदीबहिनीको प्रतीक्षामा खाली रहनेछ । टाढा रहे पनि एकअर्काप्रतिको माया, शुभकामना र आशीर्वादले उनीहरूको सम्बन्धलाई जीवन्त राखिरहेको छ ।
परदेशीको तिहारः दाजुभाइ र दिदीबहिनीको सम्झना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






