नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपलगायत विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय विशेष छानबिन समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप आपत्तिजनक रहेको बताए । पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत भएको उनको भनाइ छ । यस्ता घटनाको जवाफ सरकारले दिनुपर्ने उनले बताए । ‘पक्राउको स्पष्ट कानूनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारिता माथि अनुचित दबाब मात्र होइन, विधिको शासन विपरीत हो, स्वेच्छाचारिता हो । यसको जवाफ सरकारले दिनुपर्छ,’ आङ्देम्बेले भने । सरकारका पछिल्ला विवादित गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उनले बताए । निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको उनको भनाइ छ । ‘लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार हो, संविधान र कानुन भन्दा माथि उठ्ने अनुमति होइन । यो अहिलेको विषयवस्तुहरुको विषयमा हाम्रो निष्कर्ष छ । तर पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेका छन्,’ उनले भने । सरकारका जनसरोकारका काम र सुशासनका सकारात्मक प्रयासमा कांग्रेसको समर्थन रहने तर लोकतन्त्र, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण र विधिको शासनविपरीतका गतिविधिको विरोध जारी रहने उनले स्पष्ट पारे । ‘वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारका विषय र सुशासनका सन्दर्भमा समर्थन छ । तर लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण लगायतका सारभूत मूल्य मान्यता विपरित सरकार लागेमा काँग्रेसले विरोध गर्छ र गरिरहन्छ,’ आङ्देम्बेले भने । सरकारका गतिविधिले मुलुकको संवैधानिक संरचना कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्ने प्रयास भइरहेको आशंका पैदा गरेको पनि उनले बताए । पत्रकार धरपकडलगायत घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने कांग्रेसको माग छ । ‘यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृङ्खला हो भन्ने नेपाली काँग्रेस संसदीय दलको ठम्याइ छ । अतः नेपाली काँग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ, दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्दछ, यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ भन्ने नेपाली काँग्रेसको स्पष्ट अडान पनि छ,’ उनले भने । कांग्रेसले पछिल्ला घटनाक्रमबारे साझा धारणा बनाउन संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकसमेत बोलाएको छ । बैठकमा सरकार, न्यायपालिका र प्रहरीसमेत जोडिएका विवादित विषय तथा विचौलिया प्रकरणबारे छलफल हुने आङ्देम्बेले जानकारी दिए । कार्यकारी प्रमुख, न्यायालय र प्रहरीसम्बन्धी विवाद सार्वजनिक भइरहँदा न्याय सम्पादनको निष्पक्षतामाथि समेत प्रश्न उठेको उनको भनाइ छ । यी विषयमा साझा धारणा बनाउन र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने सन्दर्भमा विपक्षी दलहरूसँग छलफल गर्ने उनले बताए । ‘संसदमा रहेका विपक्षी दलको हामीहरुले बैठक बोलाएका छौँ । बैठकमा अहिले बिचौलियाको विषयले जसरी चाहिँ कार्यकारी प्रमुख प्रधानमन्त्रीजी, न्यायालय, प्रहरी जसरी चाहिँ मुछिएको अवस्था छ, आरोपित भएको अवस्था छ । न्याय सम्पादन गर्ने ठाउँहरु नै जब विवादित ढङ्गबाट सार्वजनिक भइरह्यो भने उनले चाहिँ सम्पादन गर्ने न्यायहरु कति न्यायोचित हुन्छ, निष्पक्ष हुन्छ भन्ने कुराको चाहिँ हामीहरुलाई शङ्का छ,’ उनले भने । संसद्को बैठक तत्काल बोलाएर यी विषयलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिँदै उनले विपक्षी दलहरूको बैठकबाट आवश्यक छलफल गरी निर्णय लिइने बताए । ‘यस विषयमा उच्चस्तरीय छानबिन संसदीय समिति गठन गर्नुपर्छ भने त्यसको लागि संसदको बैठक बस्न जरुरी हुन्छ । संसदको बैठक बस्नका लागि पनि हामीहरु विपक्षी दलको बैठक बसेर आवश्यक छलफल गरि निर्णय गर्छौ । चाँडो भन्दा चाँडो संसदको बैठक आह्वान गरेर यी विषयहरुलाई निष्कर्षमा पु¥याउन पर्छ,’ उनले भने । साथै बैठकमा भोटेकोशी र रसुवामा भएका विपत्तिसम्बन्धी संसदीय विशेष समितिको काम तथा प्रगतिबारे पनि समीक्षा गरिएको थियो । देशका ७७ वटै जिल्लामा विपत्तिबाट प्रभावित नागरिकका समस्या बुझ्न सांसदहरूलाई दिइएको जिम्मेवारी र उनीहरूबाट प्राप्त प्रतिवेदनबारे छलफल भएको आङ्देम्बेले जानकारी दिए ।
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

Read Complete Original Article
Published originally on पर्दाफास






