Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

न नागरिकता छ, न जन्मदर्ता, न रोजगारी : पहिचान खोज्दै भौँतारिदै तीन पुस्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
न नागरिकता छ, न जन्मदर्ता, न रोजगारी : पहिचान खोज्दै भौँतारिदै तीन पुस्ता
Photo / Coverage: पर्दाफास

पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो । नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन् । उनको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छिन् । उनी भन्छिन्, ‘हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ ।’ पम्फाका अनुसार उनको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो । १० सन्तानमध्ये जेठी उनको परिवार गरिबीको चपेटामा थियो । लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उनको विवाह गरिदिएका थिए । “केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भनिन्, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको दाम्पत्य जीवन बित्यो । रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौँ आएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ । नागरिकता नहुँदाको समस्या उनले त्यति बेला अझ बढी भोग्नुपर्‍यो, जति बेला छोराछोरीको नागरिकता र जन्म दर्ता पनि बनाउन सम्भव भएन । अहिले नातिनातिनाको जन्म दर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन् । “आखिर म पनि यही देशको नागरिक हुँ । मेरो जन्मथलो यही देश हो । मेरो नागरिकता किन बन्दैन रु बुझ्नै सकिनँ,” उनले भावुक हुँदै भनिन् । नातिनातिनासम्म नागरिकताविहीन हुनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पम्फालाई सताइरहेको छ । त्यसैले उनी छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहेकी छन् । उनका अनुसार उनको जन्म २०२५ सालमा भएको हो । आफूले नागरिकता नहुँदा भोग्नुपरेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उनको चाहना छ । “दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै । बैङ्क खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ,” उनले भनिन् । ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले नागरिकता नभएकै कारण त्यही काम पनि गुमाउनुपरेको उनको भनाइ छ । नागरिकता नहुँदा परिवारको रोजीरोटी खोसिनाका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट समेत वञ्चित हुनुपरेको उनले बताइन् । माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि नगरेको होइन । तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उनी निराश भएर काठमाडौँ फर्किइन् । “श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ । तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए । श्रीमान्को थातथलो थाहा छैन । अब कहाँ जाऊँ ?” उनले भनिन् । हाम्रो नागरिकता कहिले बन्छ ? सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन छन् । आफन्तको पहिचान नभएका कारण उनले नागरिकता बनाउन सकेका छैनन् । जसोतसो तेक्वान्दो खेलाडी बनेका उनले विद्यालयमा प्रशिक्षण दिने काम पनि पाएका छन् । तर, नागरिकता नहुँदा पारिश्रमिक लिन समस्या भएको उनले बताए । उनले सञ्चालन गर्दै आएको टिकटक खाता पनि अरूकै नाममा छ । उक्त खातामा आएका पाँच लाख रुपैयाँ पनि अरूले नै राखेको उनको गुनासो छ । आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड पनि अरूकै नाममा लिन बाध्य भएको उनले बताए । ‘नागरिकता नहुँदा बैङ्क खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ ?’ उनले प्रश्न गरे । साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग उनले प्रश्न गरे, “सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ रु” सञ्जयजस्तै नागरिकताविहीन छिन् अञ्जु गुरु । उनले बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताइन् । किशोरावस्थामा विवाह गर्नुभएकी अञ्जुका श्रीमान् पनि सडक मानव हुन् । श्रीमान्–श्रीमती दुवैसँग नागरिकता छैन । ‘नागरिकता भए रोजगारी पाउने थिएँ । भविष्य उज्ज्वल हुन्थ्यो । अहिले अँध्यारोमा बाँचिरहेका छौँ । न पहिचान छ, न सम्मान नै,’ उनले भनिन् । साथसाथ संस्थाले हालै सडक बालबालिकासम्बन्धी गरेको सर्वेक्षणअनुसार १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन । अधिकांशले जन्म दर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ । सर्वेक्षणमा अभिभावकका कागजात नभएका ६५ प्रतिशत, बाबुको पहिचान नभएका तथा बेपत्ता भएका र वैवाहिक अवस्थासँग जोडिएका घटना ३५ प्रतिशत रहेको उल्लेख छ । त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी र सरकारी सुविधाको पहुँचबाट वञ्चित रहेको सर्वेक्षणले देखाएको छ । संस्थाले जन्म दर्ता गर्न नसकिएका घटनाको वर्गीकरण पनि गरेको छ । जसअनुसार सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना रहेका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाँइले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए । कागजात प्रमाणित नभएको र अभिभावकको पहिचान नखुलेको अवस्थामा नागरिकलाई सहज जीवनयापन गर्न अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ । यसका लागि समितिमा आवश्यक छलफल गरी नागरिकता वितरण प्रक्रिया सहज बनाउन कार्यविधि तयार गर्ने पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । ‘नागरिकता जस्तो नैसर्गिक अधिकार पाउनुपर्छ । कानुन छ । यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ,’ सांसद चौलागाँईले भने । अधिकारकर्मी एवं साथसाथ संस्थाका स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्म दर्ता प्राप्त गर्ने कानुनी व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन जटिल हुँदा सर्वसाधारणले सहज रूपमा सेवा पाउन नसकेको बताइन् । ‘कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्’, उनले भनिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
OthersJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज १:०० बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो । निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन्। एक ...

पर्दाफास
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने
OthersJust now

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलनको तयारी, ६ सयभन्दा बढी सहभागी हुने

सहकारीलाई केवल आर्थिक कारोबार र बचत ऋणको माध्यमका रूपमा मात्र नभई शान्ति, सहकार्य र सामाजिक एकताको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपालमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन आयोजना हुने भएको छ । विश्व सहकारी अभियानलाई शान्ति र समृद्धिसँग जोड्ने लक्ष्यसहित राष्ट्रिय सहकारी महासंघ लिमिटेडले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलका अनुसार सन् ...

पर्दाफास
बजार नपाएपछि झाडीमा परिणत हुँदै धनकुटाका चियाबगान
OthersJust now

बजार नपाएपछि झाडीमा परिणत हुँदै धनकुटाका चियाबगान

९ मंसिर, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका डाँडापाखामा कुनै समय चियाका हरिया बोट लहलहाउँथे । किसानका लागि ती बोट खेती गर्ने माध्यम मात्रै थिएनन्, भविष्य बदल्ने सपना पनि थिए । अन्य बाली छाडेर चिया खेतीमा लगानी गरेका किसानले यसैबाट राम्रो आम्दानी गर्ने आशा राखेका थिए । तर, अहिले त्यही… ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुद : आज पनि पाँच खेलमा प्रतिस्पर्धा
OthersJust now

दशौं राष्ट्रिय खेलकुद : आज पनि पाँच खेलमा प्रतिस्पर्धा

९ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न पाँच खेलको प्रतिस्पर्धाहरू हुने भएका छन्। दशाैंको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भइसकेका छन्। पाैडीमा ११ इभेन्टको पदक नै टुङ्गो लागिसकेको छ । पहिलो दिन जस्तै आज बुधबार प्रतिस्पर्धा हुने खेलहरूमा महिला क्रिकेट, पुरुष फुटबल,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement