काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आथित्यतामा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । १९९४ साल कात्तिक ३० गते स्थापना भई सञ्चालनमा आएको नेपाल बैंक ९०औँ वर्षमा प्रवेश गरेको हो । बैंक सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको पनि उपस्थिति रहेको थियो । सो अवसरमा अर्थमन्त्री वाग्लेले बैंकको डिजिटल कर्जा ‘फोन लोन, वाइ नाउ पे लेटर(विएनपिएल)’ क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टल शुभारम्भ गर्दै उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न उत्पादनशील क्षेत्रहरू कृषि, जलविद्युत्, पर्यटन, सूचना-प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवद्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थागत सुशासन र वित्तीय अनुशासनमार्फत् जनविश्वास कायम गर्दै व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्न, डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरण गर्दै डिजिटल बैंकिङ र साइबर सुरक्षा तथा तथ्यांक संरक्षणमा विशेष ध्यान दिन, ग्रामीण तथा दुर्गमका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नसमेत उहाँले निर्देशन दिनुभयो । बैंकका अनुसार देशभर दुर्ई सय ३० शाखा, दुई सय ५० एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टर सञ्जालमार्फत् २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले अन्तर्राष्ट्रियस्तरको बैंकिङ प्रविधिमार्फत् बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै बैंकिङ क्षेत्रमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा परिचित गराएको छ । प्रविधिमैत्री सेवा सुविधा प्रदान गर्ने उद्देश्यअनुरूप बैंकका करिब १६ लाख ग्राहकहरू डिजिटल सेवा सुविधाबाट लाभान्वित भएका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






