काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी संयुक्त भिजन डकुमेन्टमा खेलकुद क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने उल्लेख गरिएको छ। ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टअनुसार नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीहरूमा तालिम लिने अवसरसमेत प्रदान गरिनेछ। क्रिकेटसँगै ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता अन्य खेलमा पनि यस्तै अवसर उपलब्ध गराउने सम्भावना खोजिने भएको छ। यसका साथै नेपालमा आधुनिक बहु–खेलकुद केन्द्रहरू विकास गर्ने विषयमा पनि दुवै देशबीच सहकार्यको सम्भावना खोजिने उल्लेख छ। त्यस्तै, संयुक्त आरोहण अभियान सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने तयारी छ। नेपाल र भारतका खेलाडीलाई एकअर्काका खेलकुद लिगमा सहभागी हुने अवसर उपलब्ध गराउन पनि दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा प्राधिकरणलाई प्रोत्साहन गरिने भएको छ। यसअन्तर्गत क्रिकेट, फुटबललगायत अन्य खेलका लिगमा खेलाडीको सहभागिताको सम्भावना खोजिने संयुक्त भिजन डकुमेन्टमा उल्लेख छ।
नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी खोल्न भारतले सघाउने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






