काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमासम्बन्धी बाँकी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्या संयुक्त भिजन डकुमेन्टमा समेत समावेश गरिएको छ । दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्य अघि बढाउने विषयमा सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सीमा समस्याको समाधान प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव तथा विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताउनुभयो । स्थापित सीमा संयन्त्रहरूमार्फत कूटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिबद्ध रहेको उहाँको भनाइ छ । दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा विवाद समाधानको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सीमासम्बन्धी विषय संयुक्त भिजन डकुमेन्टमा पनि समावेश भएको छ । दुई प्रधानमन्त्रीज्यूहरूले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमा समस्याको समाधान प्रक्रिया अघि बढाउन परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशन दिइसक्नुभएको छ । दुई देशबीच स्थापित सीमा संयन्त्रहरूमार्फत कूटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिबद्ध छन् । दुवै पक्षलाई अनुकूल हुने समयमा परराष्ट्र सचिव र भारतीय विदेश सचिवस्तरीय बैठक बसेर सीमा समस्याको कूटनीतिक समाधान प्रक्रिया अघि बढ्नेछ ।’ ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने विश्वास नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने विश्वास सरकारले व्यक्त गरेको छ । ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गर्नुभएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । दुवै पक्षको सहमतिअनुसार ईपीजी प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न आवश्यक समय प्राप्त हुने विश्वास पनि सरकारले व्यक्त गरेको छ । ईपीजी गठनका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि प्रवक्ता क्षेत्रीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण उक्त प्रतिवेदन राखिएको साँचो परराष्ट्र सचिवलाई २०८३ जेठ २१ गते हस्तान्तरण गर्नुभएको छ । त्यसअघि नै दुवै पक्षको सहमतिअनुसार उक्त प्रतिवेदन सुरुमा भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने कार्यतालिका रहेको विषय जानकारी नै छ । ईपीजीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ । ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै पक्षले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास छ ।’ नेपाल र भारतबीच जारी संयुक्त भिजन डकुमेन्टमा दुई देशको सम्बन्धका विभिन्न आयाम समेटिएको पनि प्रवक्ता क्षेत्रीले बताउनुभयो । त्यसमा उल्लेखित विषय कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार तथा समन्वय गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीच दुवै पक्षले संयुक्त भिजन डकुमेन्ट जारी गरेका छन् । त्यसले नेपाल र भारत सम्बन्धका विभिन्न पाटालाई समेटेको छ । ती विषयलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो दक्षिण एसिया महाशाखाबाट सम्बन्धित निकायहरूमा पत्राचार र समन्वय भइसकेको छ ।’ प्रधानमन्त्री बालेन्द्र साहले मंसिर ६ र ७ गते भारतको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलनमार्फत संयुक्त भिजन डकुमेन्ट सार्वजनिक गरेका थिए ।
नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






