ललितपुर । नेपाली युवाका लागि जापानको कृषि क्षेत्रमा आकर्षक तलबसहित पर्याप्त रोजगारीको अवसर रहेको बताइएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयसँग आबद्ध संस्था नेसनल चेम्बर अफ एग्रिकल्चरद्वारा शनिबार ललितपुरमा आयोजित जापानको विशिष्ट सीपमा दक्षता भएका कामदारअन्तर्गत कृषि क्षेत्रमा नेपाली कामदार लैजाने विषयमा भएको अन्तरक्रियामा जापानका कृषि उद्यमीहरूको प्रतिनिधिमण्डलले उक्त जानकारी गराएको हो । कार्यक्रममा जापानको कृषि क्षेत्रमा नेपाली युवालाई प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम (टिआइटिपी) र विशिष्ट सीपमा दक्षता भएका कामदार (एसएसडब्लु) गरी दुर्ई प्रकारका वर्किङ भिसामा लैजान चाहेको उनीहरूले बताएका थिए । जापानको कृषि क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई प्राविधिक प्रशिक्षार्थी तालिम, निर्दिष्ट दक्ष कामदार (क) र निर्दिष्ट दक्ष कामदार (ख) गरी तीन वर्गमा विभाजन गरिएको छ । निर्दिष्ट दक्ष कामदार (ख) अन्तर्गतका श्रमिकले आवश्यक शर्त पूरा गरेको अवस्थामा श्रीमान्/श्रीमती र छोराछोरीसमेत जापान लैजान पाउनेछन् । उनीहरूले पनि त्यहाँ वैधानिकरूपमा काम गर्न पाउने व्यवस्था छ । जापान सरकारले विकासोन्मुख देशका युवालाई कार्यस्थलमै प्राविधिक सीप, ज्ञान र कार्यअनुभव प्रदान गर्न प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन गरेको हो । जसका लागि सीपसँगै जापानी भाषामा दक्ष हुनु अनिवार्य रहेको बुलप्लान्ट कम्पनीका प्रतिनिधि दाइसुके कियामाले बताउनुभयो । कृषि, निर्माण, खाद्य प्रशोधन, उत्पादन, मेसिनरी तथा धातुजन्य काम, कपडा उद्योग र भवन सरसफाइजस्ता विभिन्न क्षेत्रमा रोजगारी पाउने प्रशिक्षार्थीले जापानमा तीनदेखि पाँच वर्षसम्म काम र तालिम लिन पाउने व्यवस्था रहेको छ । जसका लागि कम्तीमा १८ वर्ष उमेर पूरा भएको र जापानी भाषाको आधारभूत ज्ञान, सामान्यतया जेएलपिटी वा एन-४ वा सोसरहको भाषा दक्षता भएको हुनुपर्ने प्रावधान छ । जापानका च्याउ कृषक ताकेसी नाकाजिमाले हाल भियतनामी श्रमिकले काम गरिरहेकोमा नेपालीलाई पनि लैजान चाहेको भन्दै श्रमिकका लागि तलब र आवासको पर्याप्त सुविधा रहेको बताउनुभएको थियो । टिआइटिपीअन्तर्गत जाने श्रमिकको मासिक तलब एक हजार दुई सय १३ अमेरिकी डलर र एसएसडब्लुअन्तर्गत जाने श्रमिकको मासिक तलब एक हजार चार सय सात अमेरिकी डलर रहेको उहाँको भनाइ थियो । कार्यक्रम संयोजक लियो इन्टरनेसनल एचआरसी प्रालिका सञ्चालक कमल निरौलाले जापानको कृषि प्रणाली विश्वमै उत्कृष्ट रहेको र नेपाल पनि कृषि प्रधान मुलुक भएकाले जापानको कृषि क्षेत्रमा नेपाली श्रमिकका लागि रोजगारी लाभदायक हुने बताउनुभएको थियो ।
नेपालबाट कृषि श्रमिक लैजान जापान इच्छुक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






