काठमाडौं । नेपालको पहिलो औपचारिक बैंकका रूपमा स्थापित ‘नेपाल बैंक लिमिटेड’ले आफ्नो स्थापनाको ८९ वर्ष पूरा गरी आजदेखि ९०औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले झन्डै नौ दशकको यात्रामा नेपालको आधुनिक बैंकिङ प्रणालीको विकास, विस्तार र संस्थागत वित्तीय सेवाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बैंक स्थापना हुँदा नेपालमा व्यवस्थित बैंकिङ सेवाको पहुँच निकै सीमित थियो। सर्वसाधारणमा बचत गर्ने संस्कृतिको विकास भइसकेको थिएन भने उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनका लागि संस्थागत वित्तीय सहयोग प्राप्त गर्नसमेत कठिन थियो । यही अवस्थालाई मध्यनजर गर्दै १० जना लगानीकर्ताको सहभागितामा सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार नेपाल बैंक स्थापना गरिएको थियो । स्थापनाका बेला जम्मा ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट बैंकिङ कारोबार सुरु गरेको नेपाल बैंकले अहिले आफ्नो चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पु¥याएको छ । यो वृद्धि बैंकको संस्थागत विस्तारसँगै नेपालको समग्र वित्तीय क्षेत्रले गरेको प्रगतिसमेत हो । स्थापनाकालदेखि नै बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास, निक्षेप संकलन तथा उद्योग–व्यवसायमा कर्जा प्रवाहमार्फत वित्तीय पहुँच विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । बैंकले नागरिकलाई औपचारिक बैंकिङ प्रणालीमा आबद्ध गराउनुका साथै व्यापार, उद्योग तथा आर्थिक गतिविधिलाई वित्तीय सहयोग उपलब्ध गराउन महत्वपूर्ण योगदान दिएको छ । नेपाल बैंकको इतिहास एउटा वित्तीय संस्थाको विकासमा मात्र सीमित छैन । यसले नेपालको आधुनिक बैंकिङ प्रणालीको जग बसाल्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल राष्ट्र बैंक स्थापना हुनुअघिको करिब दुई दशकसम्म नेपाल बैंकले केन्द्रीय बैंकका केही महत्वपूर्ण जिम्मेवारीसमेत निर्वाह गरेको थियो। यसले नेपालको प्रारम्भिक वित्तीय प्रशासन र मौद्रिक व्यवस्थाको विकासमा समेत बैंकको ऐतिहासिक भूमिका रहेको देखाउँछ । आज नेपालको बैंकिङ क्षेत्र निकै विस्तारित र प्रविधिमैत्री बनेको छ । तलब भुक्तानी, बचत, कर्जा, रेमिट्यान्स, व्यवसाय सञ्चालन तथा विभिन्न आर्थिक कारोबारका लागि बैंकिङ सेवा सर्वसाधारणको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल भुक्तानी प्रणालीले वित्तीय सेवाको पहुँचलाई थप सहज र व्यापक बनाएका छन् ।
नेपालको बैंकिङ इतिहास बोकेको नेपाल बैंकले पूरा गर्यो ८९ वर्ष

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






