जनकपुरधाम । स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले अन्ततः आफ्नै भवन पाएको छ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । भवन प्राप्त भएसँगै विश्वविद्यालयलाई शैक्षिक तथा प्रशासनिक गतिविधि आफ्नै पूर्वाधारबाट सञ्चालन गर्ने बाटो खुलेको छ । विश्वविद्यालय र निधि भवन दुवैको स्थापनामा भूमिका निर्वाह गरेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार भवनको अवलोकन गरे । त्यस अवसरमा उनले भवन हस्तान्तरणले विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खुसी प्रकट गरे । उनले दुवै संस्थालाई एउटै छातामुनि ल्याउने आफ्नो चाहना पूरा भएको उल्लेख गर्दै भवन हस्तान्तरणको निर्णय गर्ने सङ्घीय सरकारप्रति आभार व्यक्त गरे । विश्वविद्यालयले भवनलाई शैक्षिक तथा प्रशासनिक गतिविधिका साथै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा उपयोग गर्ने जनाएको छ । चालु वर्ष नै भवनमा तीनवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको छ । अत्याधुनिक सभाहल र दुईतले प्रशासनिक भवनलगायतका भौतिक संरचना रहेको निधि भवन विश्वविद्यालयका शैक्षिक गतिविधि विस्तारका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






