चितवन । नेपालको पहिलो लक्जरी ‘राइनो क्रुज’ नारायणी नदीमा अड्किएको दुई महिना बितिसक्दा पनि निकाल्न सकिएको छैन । गत असोज ११ गते आएको बाढीले गैँडाकोटस्थित स्टेसनबाट बगाएर पुलको पहिलो पिल्लरमा पुर्याएको क्रुज अहिले भग्नावशेषको अवस्थामा छ । क्रुज निकाल्न प्रशासनले ८०/३५ टन क्षमताका दुईवटा क्रेन प्रयोग गरे पनि पिल्लरबाट करिब चार मिटर मात्रै सार्न सकिएको थियो । त्यसपछि उद्धारको काम रोकिएको छ । बाढीले क्रुजका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने ठाउँ र प्राविधिक उपकरणहरू पूर्ण रूपमा क्षति पुर्याएको छ । पानीमा तैरिनुपर्ने प्रोपेलरसमेत अहिले नदीको सतहमा देखिन थालेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकदिनमै निकाल्ने भनेर दाबीसम्म गर्नुभएकाे थियाे । आफ्नो जिल्लाभन्दा बाहिरको विषयमा उहाँले त्यतिबेला निकै स्टन्ट गर्न भ्याउनुभयाे । तर, क्रुज दुई महिनादेखि त्यहीँ छ । क्रुजको प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो खतरा नदेखिएको निष्कर्षपछि निकाल्ने प्रक्रिया सुस्ताउँदै गयो र चाडपर्वका लामा बिदाहरू सुरु भए । सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलका अनुसार मुख्य जलयानमा मात्रै करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ। क्रुजभित्रका होटल तथा भौतिक पूर्वाधारको बिमा भए पनि मुख्य जलयानको बिमा नभएकाले क्षतिपूर्ति पाउनसमेत समस्या देखिएको उहाँले बताउनुभयो । दसैँ–तिहारको बिदा तथा कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज हटाउन ढिलाइ भएको सञ्चालक पक्षको भनाइ छ। अब साबिककै अवस्थामा निकाल्न सम्भव नभएकाले काटेर टुक्रा–टुक्रा पार्दै हटाउने तयारी भइरहेको अध्यक्ष ढुंगेलले जानकारी दिनुभयो। नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले कम्पनीलाई क्रुज तत्काल हटाउन निर्देशन दिएको थियो। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले प्रशासनले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो। कम्पनीले आफैँ काटेर हटाउने काम सुरु गर्ने जानकारी प्राप्त भएको उहाँको भनाइ छ ।
नारायणीमा अड्किएको ‘राइनो क्रुज’ दुई महिनादेखि बेवारिसे (तस्बिरहरू)

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






