महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ का १०२ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक सिस्वा कटैया गाविसका वडा नं. १, २, ३, ५ र ६ मा बसोबास गर्दै आएका परिवारले लामो समयपछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व पाएका हुन्। नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको जग्गा नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्साको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो। करिब ११ वर्षसम्म अल्झिएको प्रक्रिया अघि बढेपछि अहिले १०२ परिवारले जग्गाको आधिकारिक स्वामित्व प्राप्त गरेका हुन्। लालपुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई जग्गाको कानुनी स्वामित्व स्थापित गर्न सहज भएको छ। जग्गाधनी प्रमाण पुर्जा भएपछि उनीहरूले आफ्नो जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन्। यसले जग्गाको स्वामित्वसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






