काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा आफूलाई धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने विषय बाहिरिएपछि इनम सापकोटा प्रकरण नयाँ मोडमा पुगेको छ । सुरुमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, व्यवसायी उमेश श्रेष्ठ, नेपाली कांग्रेस र सर्वोच्चका न्यायाधीशलाई मुछेर बयान दिएका इनमले अहिले आएर उक्त बयान जबरजस्ती दिन लगाइएको भन्ने कुरा बाहिरिएसँगै बयान जबरजस्ती गराइयो कि अरू समातिने डरले आयोगमा उजुरी दिन लगाइयो भन्ने प्रश्न उब्जिएको हो । प्रहरीका अनुसार सापकोटाले मुद्दामामिला अदालतमा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने सन्देशहरू इनमको मोबाइलमा फेला परेका छन् । उनको सम्पर्क सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरका आरोपमा थुनामा रहेका दीपक भट्ट, उनको परिवारका सदस्य तथा व्यवसायी सुलभ अग्रवालको समूहसँग पनि देखिएको छ । भट्ट र जबराबीच सम्पर्क तथा सूचना आदानप्रदान गराउने माध्यमका रूपमा सापकोटाले भूमिका खेलेको प्रहरी अधिकृतहरूको निष्कर्ष छ । तर, अहिले उनै इनमले आफूलाई जबरजस्ती बयान गर्न लगाएको बताइरहेका छन् । ३० वर्षीय इनम सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कका कारण अनुसन्धानमा तानिएका हुन् । ११ असोजमा पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षाका लागि भन्दै टेकूस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर मोबाइल जाँच गर्दा सापकोटासँग पटक–पटक फोन सम्पर्क भएको खुलेको थियो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट प्रहरीले १४ असोजमा नियन्त्रणमा लिएको थियो । के छ मानव अधिकार आयोगमा दिएको उजुरीमा ?बिचौलियाका रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका इनम सापकोटाले प्रहरीले यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् । आफूलाई धम्क्याएर झुटो बयान लिन खोजिएको र परिवारसमेत असुरक्षित रहेको उनले दाबी गरेका छन् । निवेदनमा उनले विभिन्न व्यक्तिहरूको नाम लिई बयान गर्न लगाएको उल्लेख गरेका छन् । गत १ असोजमा पक्राउ परेका सापकोटामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंक ऐनअनुसार अनुसन्धान गरिरहेको छ । आफूलाई प्रहरीले नै लेखेको कुरा पढ्न लगाएरसमेत अडियो रेकर्ड गरिएको उनको दाबी छ । अनुसन्धानका क्रममा झुटा प्रमाण तयार गरिरहेको उनको दाबी छ । आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिले नियन्त्रणमा राखेको समेत उनले उल्लेख गरेका छन् । निवेदनमा आफूलाई १४ देखि १५ असोज साँझसम्म अज्ञात स्थलमा कालोपट्टी लगाएर राखिएको र सो अवधिमा आफूसँग विभिन्न कुरा सोधपुछ गरिएको उल्लेख गरेका छन् । निवेदनमा लेखिएको छ, ‘सोधपुछको क्रममा तिम्रोविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्हरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने, नत्र म मात्र होइन, मेरो परिवारसमेतलाई नराम्रो हुन्छ भनी धम्की दिइयो ।’ उनले दिएको निवेदनमा तीमध्ये केही व्यक्तिहरूसँग आफ्नो अत्यन्त राम्रो सम्बन्ध भएको र केहीलाई चिन्दै नचिनेको उल्लेख गरेका छन् । उनले भनेजस्तो बयान नदिए लामो समयसम्म जेल बस्ने गरी झुटा मुद्दा लगाउने, आफू तथा परिवारको जिउज्यानमै खतरा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइएको निवेदनमा उल्लेख गरेका छन् । प्रहरीले उनीमाथि अनुसन्धानका क्रममा लगानी बोर्डका पूर्वसिईओ सुशील भट्ट तथा व्यवसायी महेश श्रेष्ठलाई समेत पक्राउ गरेको थियो । उनीहरूसँग शंकास्पद कारोबार देखिएका थप व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेका बेला सापकोटाले आयोगमा निवेदन दिएका हुन् । इनमको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले दर्ता गराएको निवेदनमा आफूलाई विमानस्थलबाट आँखामा पट्टी बाँधी अज्ञात स्थलमा लगेको, जबरजस्ती बयान गराई हस्ताक्षर गराइएको र मानसिक यातना दिइएको उल्लेख गरिएको छ । इनमले आयोगमा दिएको निवेदनमा १६ गते प्रहरी भ्यानमा राखेर पानीपोखरीस्थित अपार्टमेन्टमा पुर्याएको र त्यहाँ खानतलासी गरिएको उल्लेख गरेका छन् । निवेदनमा लेखिएको छ, ‘प्रहरीले घरका सबै कोठाहरू खानतलासी गरी पुरानो ल्यापटप, पुरानो फोन र केही कागजातहरू मात्र फेला पारेपछि प्रहरीमध्येका एकजनाले यहाँ केही भेटिएन भनेपछि फेरि उसैले इशारा गरेर घरअगाडि राखिरहेको सुटकेसभित्र ल्याई सुटकेसभित्र रहेको मेरो साइड ब्यागबाट केही विदेशी मुद्राहरू निकाली फेरि फोनमा यतिमात्र रहेछ भनी जानकारी गराएपछि यही भने पनि मुचुल्का बनाएर लानुपर्छ भनी भेटिएका ल्यापटप, पुरानो फोन र मेरो सुटकेसबाट निकालेका पैसालाई घरमा फेला परेको भनी मुचुल्का बनाए ।’ निवेदनमाथि अध्ययन गरी यस विषयमा छानबिन गरिने मानव अधिकार आयोगका अधिकारीले बताएका छन् ।
नयाँ मोडमा इनम प्रकरण

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





.jpg)
