काठमाडौं । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा र सभ्यतालाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानले धनगढीमा दुई दिने ‘सुदूरपश्चिम साहित्य महोत्सव-२०८३’ आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवमा साहित्य, पर्या-पर्यटन, शिक्षा, इतिहास, भूगोल, समाज र संस्कृतिलगायत विषयमा डेढ दर्जनभन्दा बढी सत्रमार्फत विमर्श गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदेशका नौवटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ । साथै हुड्केली, छलिया, होरी, देउडा र सखियालगायत मौलिक सांस्कृतिक झाँकी, साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा कार्यपत्र प्रस्तुति पनि रहने जनाइएको छ । महोत्सवमा लेखक, साहित्यकार, बुद्धिजीवी, संस्कृतिकर्मी, शिक्षाविद् तथा पत्रकारको सहभागिता रहनेछ । आख्यानकार नारायण ढकालले ‘नेपाली साहित्य हिँडेको बाटो’ विषयमा विद्वत् प्रवचन दिने कार्यक्रमसमेत रहेको छ । महोत्सवका केन्द्रीय संयोजक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ दीपक सापकोटाले सुदूरपश्चिमको मौलिक पहिचान, सांस्कृतिक सम्पदा र सम्भावनालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।
धनगढीमा सुदूरपश्चिम साहित्य महोत्सव हुने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






