Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

द पोस्टकार्ड होटल नेपालमा विस्तार हुँदै, राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
द पोस्टकार्ड होटल नेपालमा विस्तार हुँदै, राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ सञ्चालनमा आउने
Photo / Coverage: पर्दाफास

अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द पोस्टकार्ड होटल’ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। ब्रान्डले चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नामक लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो। होटल नोभेम्बर २०२६ मा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको यो रिसोर्टबाट राप्ती नदी, वरपरका जंगल र पहाडको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ। होटलमा २२ वटा फराकिला कोठा तथा सुइट रहनेछन्। प्रत्येक कोठाबाट नदी वा जंगलको दृश्य देखिने निजी सिट आउटको व्यवस्था गरिएको छ। होटलका अनुसार पाहुनाले आफ्नै कोठाबाट गैँडा, गोहीलगायत वन्यजन्तुको गतिविधि नियाल्न सक्नेछन्। अनुकूल अवस्था र भाग्यले साथ दिए बाघ तथा भालुजस्ता वन्यजन्तु पनि देख्न सकिनेछ। होटलको सबैभन्दा विशेष सुविधाका रूपमा ५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको प्रेसिडेन्सियल सुइट रहनेछ। दुई बेडरुम भएको उक्त सुइटमा निजी स्विमिङ पुलसहित पर्याप्त खुला ठाउँ र गोपनीयताको व्यवस्था गरिएको छ। अन्य कोठाहरू पनि १ हजार ३०० वर्गफिटदेखि सुरु हुने जनाइएको छ। रिसोर्टमा रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, स्टिम रुम तथा साउना उपलब्ध हुनेछन्। जंगलको दृश्य देखिने अग्लो डेकमा रहेको ‘ट्री टप्स’ रेस्टुरेन्टमा पाहुनाले खानपानको सुविधा पाउनेछन्। त्यस्तै, ‘एनिटाइम ब्रेकफास्ट’ सुविधाअन्तर्गत आफूलाई अनुकूल हुने समयमा बिहानको खाना खान सकिनेछ। साँझको समयमा ‘ट्राइबल सर्कल’ नाम दिइएको खुला क्षेत्रमा आगो ताप्दै बार्बेक्युको आनन्द लिन सकिनेछ। तराई क्षेत्रका थारू समुदायको परम्परागत खानपानबाट प्रेरित परिकारमार्फत पाहुनालाई स्थानीय स्वाद र संस्कृतिसँग परिचित गराउने होटलको योजना छ। होटलमा बस्ने पाहुनाका लागि जीप सफारी, जंगल पदयात्रा, राप्ती नदीमा डुंगा सयर तथा चरा अवलोकनलगायत गतिविधि पनि सञ्चालन गरिनेछन्। नजिकैका थारू बस्तीको भ्रमणमार्फत स्थानीय समुदायको जीवनशैली र सांस्कृतिक सम्पदाबारे जानकारी लिन सकिनेछ। प्राकृतिक वातावरणमा लक्जरी आतिथ्य सेवाको अनुभव प्रदान गर्ने उद्देश्य राखिएको होटलको सुइटको मूल्य प्रतियुनिट नेपाली रुपैयाँ १ लाख ३६ हजारदेखि सुरु हुने जनाइएको छ। उक्त मूल्यमा विशेष ‘एनिटाइम ब्रेकफास्ट’ तथा पाहुनाको सुविधाअनुसार जुनसुकै समयमा चेक–इन र चेक–आउट गर्न सकिने सुविधा समावेश छ। होटलसम्म पुग्न पनि सहज रहेको जनाइएको छ। काठमाडौंमा हवाई यात्रापछि करिब २५ मिनेटमा भरतपुर विमानस्थल पुग्न सकिन्छ। विमानस्थलबाट होटलसम्म गाडीमा करिब ४० मिनेट लाग्नेछ। द पोस्टकार्ड होटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कपिल चोपडाले नेपालका प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले चितवनमा होटल सञ्चालन गर्न लागिएको बताएका छन्। उनका अनुसार स्थानीय प्रकृति, वन्यजन्तु र समुदायको सम्मान गर्दै विशेष पर्यटकीय अनुभव प्रदान गर्ने अवधारणामा होटल निर्माण गरिएको हो। त्यस्तै, होटलकी संस्थापक सवाना वैद्य बस्न्यातले नेपालको पर्यटन हिमालमा मात्र सीमित नरहेको बताएकी छन्। नेपालको तराई क्षेत्र पनि जंगल, नदी, वन्यजन्तु र स्थानीय संस्कृतिका दृष्टिले उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले चितवनको प्राकृतिक सुन्दरतालाई विश्वसामु चिनाउने उद्देश्यले परियोजना अघि बढाइएको बताएकी छन्। सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैँडा, बाघ, चितुवा, भालु तथा घडियाल गोहीलगायत वन्यजन्तुका लागि प्रसिद्ध छ। सन् २०२१ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन र आसपासका क्षेत्रमा ६९४ वटा गैँडा रहेका थिए। त्यस्तै, यहाँ ५२५ भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन्। द पोस्टकार्ड होटलले भारत, भुटान र श्रीलंकामा यसअघि नै आफ्नो सेवा विस्तार गरिसकेको छ। चितवनमा होटल सञ्चालनमा आएसँगै नेपाल यो ब्रान्डको सेवा विस्तार भएको चौथो देश बन्नेछ। हाल ब्रान्डले विभिन्न देशमा १३ वटा लक्जरी होटल सञ्चालन गरिरहेको छ। यस ब्रान्डले सन् २०२६ को सेप्टेम्बरमा माल्दिभ्समा आयोजित ‘वल्र्ड ट्राभल अवार्ड्स एसिया, ओसियानिया एन्ड इन्डियन ओसन गाला समारोह’मा १२ वटा अवार्ड प्राप्त गरेको जनाएको छ। लगातार अर्को वर्ष पनि ‘एसियाज लिडिङ बुटिक होटल ब्रान्ड’को उपाधि जितेको कम्पनीले आगामी दिनमा भारतका जवाइ, कान्हा र पेन्चलगायत क्षेत्रमा पनि नयाँ होटल सञ्चालन गर्ने योजना बनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
OthersJust now

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। उनलाई बुधबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए। ...

पर्दाफास
भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने
OthersJust now

भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने

सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको थियो । अग्निपथ अनुसार भर्ती भएकाहरू मध्ये ७५ प्रतिशतको जागिर चार वर्षपछि सकिन्थ्यो । ...

अनलाइन खबर
सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी
OthersJust now

सबै प्रहरी एक ढिक्का भई काम गर्नु आवश्यक छ : आईजीपी केसी

संगठनको मूल्यमान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोचका साथ सबै प्रहरी कर्मचारीहरूले आफूलाई साथ दिनेमा आईजीपी केसीले विश्वास व्यक्त गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play