सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार सञ्चालन गरिएका प्रतियोगिताहरुमा विभागीय टोलीसहित बाग्मतीको बर्चस्व देखिएको छ । बाग्मती शुक्रबार सम्पन्न पौडी प्रतियोगितामा च्याम्पियन बन्यो भने विभागीय टोली त्रिभुवन आर्मीले पुरुष फुटबलमा लगातार दोस्रो जीत निकालेको छ भने महिला क्रिकेटमा सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण प्राप्त गरेको छ । महिला क्रिकेटतर्फ अर्को विभागीय टिम एपीएफ पनि सेमिफाइनलमा पुगेको हो । एपीएफले पुरुष क्रिकेटमा कोशी प्रदेशलाई हराएको छ । नेपालगन्जमा सञ्चालन भएका पौडी प्रतियोगितामा १६ स्वर्ण, ९ रजत, १० कास्य गरी कुल ३५ पदक जित्दै बाग्मती च्याम्पियन बनेको हो । दोस्रो स्थानमा रहेको गैरआवासीय नेपाली संघको एनआरएनएले १२ स्वर्ण, ४ रजत, ४ कास्य गरी २० पदक प्राप्त गरेको छ भने त्रिभुवन आर्मी क्लब ७ स्वर्ण १५ रजत, १७ कास्य गरी कुल ३९ पदक सहित तेस्रो बन्यो । नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत, १६ कास्य गरी ३६ पदक सहित चौथो, कोशी प्रदेश ३ स्वर्ण पदकसहित पाँचौं र सुदुरपश्चिमले २ स्वर्ण, ४ रजत, १ कास्य गरी ७ पदकसहित छैठौं स्थान हासिल गरेको छ । शुक्रबार महिला बक्सिङका विभिन्न विधामा भएका प्रतियोगितामा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र एपीएफसँगै बाग्मती प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका छन् । शुक्रबारदेखि फुलकन्ट्याक्ट कराते प्रतियोगिता पनि सुरु भएको छ । सुर्खेत कर्भडहलमा भइरहेको प्रतियोगितामा १० टोलीका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् भने जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन् । वीरेन्द्रनगरको मिनी कभर्डहलमा जारी प्रतियोगितामा बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन् । जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले प्रारम्भिक चरणको प्रतिस्पर्धा पूरा गरी दोस्रो चरणमा स्थान बनाएका छन् । तीन चरणमा सञ्चालन हुने जिम्न्यास्टिक प्रतियोगिताको कम्पिटिसन–२ (अलराउन्ड) विधामा ४२ महिला र ४८ पुरुष गरी कुल ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । शुक्रबार महिला बास्केटबलतर्फ दुवै विधातर्फ गरी ८ वटा टिम सेमिफाइनलमा प्रवेश गर्दा आठवटै टिम बाहिरिएका छन् । बास्केटबलका राष्ट्रिय सिनियर रेफ्रि राजेश महर्जनका अनुसार फूल कोर्ट (५×५) तर्फ एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस र त्रिभूवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै (३×३) विधातर्फ नेपाल आर्मी, बागमती प्रदेश, एपीएफ क्लब र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गरेका हुन् । त्रिभुवन आर्मी क्लवले पुरुष फुटबलअन्तर्गत लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा आर्मीले बाग्मतीलाई २–० गोलको अन्तरमा पराजित गरेको हो । पहिलो हाफ बराबरी भएको सो खेलको ६४ औं मिनेटमा आर्मीका लागि लाकेन लिम्बुले पहिलो गोल गरे भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ९७ औं मिनेटमा गोल गरी आर्मीको जित सुनिश्चित गरेका हुन् । लुम्बिनीसँग पहिलो खेल जितेको आर्मीले बाग्मतीलाई पनि जितेपछि ६ अंक प्राप्त गरेको छ भने पहिलो खेल कोशी प्रदेशसँग बराबरी गरेको बाग्मतीको एक अंक मात्र छ । शुक्रबार भएको पुरुष फुटबलको अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४—१ गोलले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए । लुम्बिनीका लागि एकमात्र गोल खेलको ५० औं मिनेटमा फागुराम चौधरीले गरेका छन् । आफ्नो पहिलो खेल बाग्मतिसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ भने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंकविहीन बनेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब महिला क्रिकेटतर्फ कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि कोशी प्रदेशसँग हारेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लब पनि मधेश प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एपीएफले मधेशलाई ८० रन अन्तरमा हराएको हो । पुरुष क्रिकेट : एपीएफ र मधेश प्रदेशको जीत दीपक बोहराको कप्तानीपूर्ण अर्धशतकीय पारीमा सशस्त्र प्रहरीको एपीएफ क्लवले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको तेस्रो खेलमा विजयी सुरुवात गरेको छ । कालुन्चोक मैदानमा टस हारेपनि पहिला ब्याटिङ पाएको विभागीय टोली एपीएफले कोशी प्रदेशमाथि ११ रनको जित आत्मसाथ गर्दै २ अंक बटुलेको हो । पुरुष क्रिकेटअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशसँग पराजित भएको छ । कालुन्चोक मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा मधेश प्रदेशसँग २९ रनको हार व्यहोर्दै पुलिस पहिलो खेलमै निराश बनेको हो । शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण रुकुम पश्चिमको चौरजहारीमा दसौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनतर्फ विभिन्न आठवटा विधामा प्रतिस्पर्धा भएका छन् । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पुरुषतर्फ एमएपी (१७) भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक पाएका छन् । बाग्मतिका सविन चौलागाईं रजत पदक र लुम्बिनीका रेशम रानाले काँस्य पदक प्राप्त गरे । त्यस्तैगरी एमएपी (१७) भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण पदक हासिल गर्दा लुम्बिनीका ईश्वर पुन रजत र गण्डकीका यमन्त गुरुङले काँस्य प्राप्त गरे । एमएसपी (१७) भन्दा कम) विधामा नेपाल प्रहरीका सिर्जन महर्जन स्वर्ण पदक, त्रिभुवन आर्मीका ज्ञानेश्वर चौधरी रजत र बाग्मतीका राज शाहीले काँस्य पदक प्राप्त गरे । त्यस्तै एमएसपी (१७) भन्दा माथि) विधामा त्रिभुवन आर्मीका पुकार शाक्य स्वर्ण पदक, नेपाल प्रहरीका प्रनेश श्रेष्ठ रजत र बाग्मतिका रिजनकुमार श्रेष्ठले काँस्य पदक जितेका छन् भने महिलातर्फ डब्लुएपी विधामा बाग्मतिकी उर्मिला श्रेष्ठ स्वर्ण, आर्मीकी सिर्जना घिसिङ रजत र गण्डकीकी आशा चौधरीले काँस्य पदक प्राप्त गरे । वुमेन्स वेलनेस (१७) भन्दा कम) विधामा आर्मीकी शिवानी लामाले स्वर्ण पदक हासिल गरिन् । गण्डकीकी बिपना कुमाल रजत र लुम्बिनीकी पुनम सुनारले कास्य पदक जितेका छन् । मेन्स क्लासिक बडी बिल्डिङ विधामा आर्मीका अनिश रसाइली स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठ रजत र मधेशका हरिनारायण साहले काँस्य पदक प्राप्त गरे ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता: बाग्मतीको बर्चस्व, कर्णाली अझै पदकविहिन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






