सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने खेलमा आर्मीले सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले र एपीएफले मधेस प्रदेशलाई ८० रनले पराजित गरे । तीन समूहबाट समूह विजेता र उत्कृष्ट एक उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान छ । तीनै समूहका उपविजेताको समान अंक भए नेट रनरेटका आधारमा उत्कृष्ट टोली छनोट हुनेछ । समूह ‘ए’ बाट आर्मी र समूह ‘बी’ बाट एपीएफ विजेता बनेर अन्तिम चारमा पुगेका छन् । समूह ‘सी’ बाट बागमती प्रदेश यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार गण्डकी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलपछि उत्कृष्ट उपविजेताको टुङ्गो लाग्नेछ । हालसम्म समूह ‘ए’ मा कोशी र समूह ‘बी’ मा मधेसले समान दुई अंक जोड्दै उत्कृष्ट उपविजेता बनेर सेमिफाइनल पुग्ने सम्भावना कायम राखेका छन् । सुर्खेतस्थित वीरेन्द्रनगर क्रिकेट मैदानमा शुक्रबार भएको समूह ‘बी’ को खेलमा मधेसले एपीएफबाट पाएको १४४ रनको लक्ष्य पछ्याउन सकेन । २० ओभरमा सात विकेट गुमाएर मधेसले ६३ रन मात्रै बनाउन सक्यो । मधेसकी कप्तान पूजा महतोसहित शीर्ष तीन ब्याटर शून्य रनमै आउट भए । एलिसा यादव, सना प्रवीण र पूजा महतोले खाता खोल्न सकेनन् । सुरुवाती तीन विकेट गुमाएपछि मधेसको ब्याटिङ सम्हालिन सकेन । मध्यक्रमकी अनुराधा चौधरीले १४ र सरस्वती चौधरीले १७ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफका सुमन विष्ट र राजमती ऐरीले समान दुई तथा रेखा रावल र कविता जोशीले समान एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएको थियो । एपीएफको सुरुआत पनि खराब रह्यो । तीन रन जोड्दा नै टोलीले तीन विकेट गुमाएको थियो । रेवती धामी दुई रनमा आउट हुँदा कप्तान सीता रानामगर र राजमती ऐरीले खाता खोल्न सकेनन् । त्यसपछि इन्दु बर्मा र रोमा थापाले ९५ रनको महत्वपूर्ण साझेदारी गर्दै एपीएफको इनिङ सम्हाले । इन्दुले ५१ बलमा नौ चौकासहित ५६ रन बनाइन् । रोमाले पाँचौँ विकेटका लागि कविता जोशीसँग ३७ रनको साझेदारी गरिन् । रोमा ४४ बलमा चार चौकासहित ४४ रनमा अविजित रहिन् । कविताले १७ बलमा २३ रन जोडिन् । एपीएफले अतिरिक्तबाट १३ रन पाएको थियो । मधेसका कप्तान पूजाले दुई तथा सरस्वती चौधरी, प्रसिद्धिका खड्का र प्रज्ञा क्षेत्रीले समान एक विकेट लिए । यस्तै, समूह ‘ए’ को खेलमा आर्मीले कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्यो । ब्याटिङमा सम्झना खड्का र बलिङमा मनीषा उपाध्याय चम्किएपछि आर्मीले सहज जित निकालेको हो । समूह चरणको अन्तिम खेल जित्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको कर्णाली ब्याटिङ र बलिङ दुवैमा कमजोर देखियो । आर्मीले दिएको १३९ रनको लक्ष्य पछ्याएको कर्णाली १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । कर्णालीका दशौँ नम्बरकी ब्याटर जयन्ती चन्दले सर्वाधिक १० रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका मनीषाले चार, यमुना थारुले तीन र कविता कुँवरले दुई विकेट लिए । लक्ष्मी साउदीले एक विकेट हात पारिन् । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १३८ रन बनाएको थियो । ओपनर सम्झना खड्काले ५८ बलमा १० चौकासहित सर्वाधिक ६२ रन बनाइन् । यशोदा विष्टले ३९ बलमा तीन चौकासहित ३३ रन जोडिन् । कविता कुँवरले छ बलमा ११ रन बनाइन् । कर्णालीले अतिरिक्तबाट २० रन दिएको थियो । कर्णालीका गंगा खड्का, रमा बुढाथोकी, सोनु चन्द र किरणकुमारी कुँवरले समान एक विकेट लिए ।
दशौं खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






