काठमाडौं । थोमस फ्र्याङ्कले क्रिस्टल प्यालेसको प्रशिक्षकका रूपमा पहिलो जित हात पारेका छन् । युरोपा कन्फरेन्स लिगमा प्यालेसले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई २–१ गोलले पराजित गरेको हो । खेलमा रियल सोसिडाडले ६६औं मिनेटमा मामाडु सारको गोलमार्फत अग्रता लिएको थियो । तर, त्यसको पाँच मिनेटपछि जोन मार्टिनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा सीमित भयो । त्यसको फाइदा उठाउँदै क्रिस्टल प्यालेसले पुनरागमन गर्यो । ७४औँ मिनेटमा जाँ–फिलिप माटेटाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ८१औँ मिनेटमा वैकल्पिक खेलाडी ड्वाइट म्याकनिलले निर्णायक गोल गरे । इन्जुरी समयमा प्यालेसले अर्को पेनाल्टी पाउने अवसरसमेत पाएको थियो । तर, माटेटाको स्थानमा मैदान प्रवेश गरेका येरेमी पिनोको प्रहार रियल सोसिडाडका गोलरक्षक उनाइ मारेरेले बचाए । यो जितसँगै क्रिस्टल प्यालेसले युरोपेली प्रतियोगितामा घरेलु मैदानमा आफ्नो अपराजित यात्रा नौ खेलसम्म पुर्याएको छ । अर्कोतर्फ, इंग्लिस क्लबविरुद्ध रियल सोसिडाडको कमजोर प्रदर्शन पनि कायमै रहेको छ । इंग्लिस टोलीसँग खेलेका पछिल्ला १२ युरोपेली खेलमा उसले केवल एक जित निकालेको छ ।
थोमस फ्र्याङ्कको प्रशिक्षणमा क्रिस्टल प्यालेसको पहिलो जित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






