काठमाडौं । तुवाँलोका कारण बुधबार बिहान सुर्खेत, सिमरा र भरतपुर विमानस्थलमा उडान प्रभावित भएको छ। यी तीन विमानस्थलमा काठमाडौंबाट हुने उडान हुन सकेका छैनन्।मंगलबार पनि तुवाँलोका कारण सुर्खेत, सिमरा र भरतपुरलगायत विमानस्थलमा उडान प्रभावित भएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार बिहान प्रतिकूल मौसम र कम दृश्यताका कारण सुर्खेत, सिमरा र भरतपुरका उडान रोकिएका हुन्। ती गन्तव्यमा जाने यात्रुवाहक विमान काठमाडौंबाट उडानका लागि तयारी अवस्थामा रहे पनि उड्न सकेका छैनन्। सुर्खेत विमानस्थलमा दृश्यता ५ हजार मिटर, सिमरामा १ हजार ६ सय मिटर र भरतपुरमा ५ हजार मिटर आवश्यक पर्छ । तीनै विमानस्थलमा दृश्यतामा क्रमशः सुधार भइरहेको आन्तरिक टर्मिनलले जनाएको छ। तुवाँलोका कारण यी तीन विमानस्थलमा उडान प्रभावित भए पनि अन्य आन्तरिक गन्तव्यमा भने उडान भइरहेको छ। हिमाली, पहाडी तथा तराईका अन्य सुगम रुटमा हवाई सेवा सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ। बुधबार आन्तरिकतर्फ काठमाडौंबाट एकतर्फी कुल १५५ उडानको तालिका रहेको छ।
तुवाँलोले सुर्खेत, सिमरा र भरतपुर विमानस्थलमा उडान प्रभावित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






