Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहार विशेष परिकार बनाउँदै वा किन्दै हुनुहुन्छ ? स्वास्थ्यमा समस्या आउन नदिन ध्यान दिनुहोस् यी कुरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार विशेष परिकार बनाउँदै वा किन्दै हुनुहुन्छ ? स्वास्थ्यमा समस्या आउन नदिन ध्यान दिनुहोस् यी कुरा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार सुरु भएएसँगै बजारमा मिठाई, फलफूल, तेल, घिउलगायत खाद्यवस्तुको कारोबार बढेको छ । घरघरमा सेलरोटी, अनरसा, फिनी, लाखमरीलगायत परम्परागत परिकार बनाउने तथा बजारबाट किनेर ल्याउने क्रम पनि बढेको छ । चाडपर्वको रमझमसँगै विभिन्न परिकार खाने चलन रहे पनि खाद्यवस्तुको गुणस्तर, स्वच्छता र खानपानको मात्रामा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैले तिहारका लागि खानेकुरा बनाउँदा वा बजारबाट खरिद गर्दा विशेष सावधानी अपनाउन खाद्यविज्ञ तथा पोषणविद्ले सुझाव दिएका छन् । तिहारमा विशेषगरी तेल वा घिउमा पकाइने परिकारको उपभोग बढी हुन्छ । सेलरोटी, अनरसा, फिनी, निम्कीलगायत परिकार बनाउँदा प्रयोग गरिने तेलको गुणस्तर र त्यसको प्रयोग गर्ने तरिकामा ध्यान दिनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सुझाव छ । विभागका अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा मिठाईमा अखाद्य वस्तु प्रयोग गरिएको नपाइए पनि भान्साको सरसफाइ र तेलको पुन प्रयोगजस्ता विषयमा पर्याप्त ध्यान दिएको देखिएको छैन । तिहारमा सेलरोटी अनिवार्यजस्तै मानिन्छ । धेरैजसो घरमा एकैपटक धेरै सेलरोटी पकाउने गरिन्छ । यस क्रममा बाँकी रहेको तेल फेरि प्रयोग गर्ने प्रवृत्ति पनि छ । तर एकपटक प्रयोग भइसकेको तेललाई चिसिएपछि पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्ने विज्ञहरू बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीका अनुसार एकपटक प्रयोग गरिएको तेललाई चिसिएपछि पुनः पकाउन प्रयोग गर्नु हुँदैन । तेललाई पटक–पटक तताउँदा त्यसको गुणस्तर घट्नुका साथै स्वास्थ्यलाई असर गर्ने हानिकारक पदार्थसमेत बन्न सक्छन् । त्यसैले सेलरोटी पकाइसकेपछि बाँकी रहेको तेललाई अन्य परिकार बनाउन पुनः प्रयोग नगर्न उनको सुझाव छ । प्रयोग भइसकेको तेललाई खाद्य प्रयोजनबाहेक अन्य उपयुक्त प्रयोजनमा प्रयोग गर्न सकिने उनको भनाइ छ । त्यस्तै, एउटै तेलमा पटक–पटक विभिन्न प्रकारका खानेकुरा पकाउनु पनि उचित हुँदैन । तेल धेरै तताउने र लामो समयसम्म प्रयोग गरिरहने बानीबाट बच्नुपर्छ । तिहारमा बजारमा विभिन्न प्रकारका मिठाईको माग बढ्छ । आकर्षक देखिने र चहकिलो रङ भएका मिठाईप्रति उपभोक्ताको आकर्षण पनि बढी हुने गरेको छ । तर मिठाईको बाहिरी आकर्षणभन्दा त्यसमा प्रयोग भएका सामग्री र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ । मिठाईमा प्रयोग गरिने सबै खाद्य रङ हानिकारक हुँदैनन् । सरकारले तोकेको मापदण्डअनुसार स्वीकृत खाद्य रङ निश्चित सीमाभित्र प्रयोग गर्न पाइन्छ । तर आवश्यकताभन्दा बढी रङ प्रयोग गरिएको मिठाईले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । खाद्य नियमावलीमा मिठाईमा प्रतिकिलो दुई सय मिलिग्रामसम्म खाद्य रङ प्रयोग गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ । यद्यपि, सम्भव भएसम्म कृत्रिम रङ प्रयोग नगरिएका वा कम रङ प्रयोग गरिएका मिठाई छनोट गर्नु उपयुक्त हुन्छ । प्याकेटमा राखिएका मिठाई खरिद गर्दा उत्पादन मिति, उपभोग गर्न मिल्ने अन्तिम मिति र प्याकेटको अवस्था जाँच गर्नुपर्छ । खुला रूपमा बिक्री गरिएका मिठाई किन्दा तिनको उत्पादन तथा बिक्री गर्ने स्थानको सरसफाइ, भण्डारणको अवस्था र ताजापनमा ध्यान दिनुपर्छ । मिति उल्लेख नगरिएका मिठाई खरिद गर्दा कति समयसम्म उपभोग गर्न सुरक्षित हुन्छ भन्ने विषयमा विक्रेतासँग जानकारी लिनुपर्छ । गन्ध, स्वाद वा स्वरूपमा असामान्य परिवर्तन देखिएका मिठाई सेवन गर्नु हुँदैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलाई लक्षित गर्दै मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ताले देख्ने गरी आवश्यक विवरण राख्न निर्देशन दिएको छ । विभागका अनुसार मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ । यस्ता विवरण मिठाई राख्ने सोकेस वा बिक्री काउन्टरमा उपभोक्ताले सजिलै देख्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । मिठाई खरिद गर्दा उपभोक्ताले पनि यी विवरण हेर्ने बानी बसाल्नुपर्छ । आकर्षक देखिएको वा सस्तो मूल्यमा पाइयो भन्दैमा गुणस्तर र स्वच्छताको बेवास्ता गर्नु हुँदैन । तिहारमा सेलरोटी, मिठाई र अन्य तारेका परिकार खाने चलन छ । चाडपर्वमा यस्ता परिकार थोरै मात्रामा खाँदा सामान्यतया समस्या नआउन सक्छ । तर स्वादका नाममा धेरै दिनसम्म अत्यधिक चिल्लो र गुलियो खानेकुरा खाँदा स्वास्थ्यमा असर पर्न सक्छ । पोषणविद्हरूका अनुसार खानपानमा सन्तुलन कायम राख्नु आवश्यक छ । विशेषगरी सेलरोटी, मिठाई र बोसोयुक्त मासु एकैपटक धेरै मात्रामा सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी बोसो, चिनी र क्यालोरी पुग्न सक्छ । तिहारमा मासु र सेलरोटी सँगै खाने चलन भए पनि मासु पकाउँदा थप चिल्लो पदार्थको प्रयोग कम गर्नुपर्छ । मासुमा प्राकृतिक रूपमै बोसो हुने भएकाले अतिरिक्त तेल वा घिउ थप्दा शरीरमा चिल्लो पदार्थको मात्रा बढ्न सक्छ । व्यक्तिको उमेर, शारीरिक अवस्था, तौल, उचाइ र दैनिक गतिविधिअनुसार खानाको मात्रा निर्धारण गर्नुपर्छ । चाडपर्व भन्दैमा नियमित खानपानको तालिका बिगार्नु उचित हुँदैन । तिहारका लागि घरमै सेलरोटी, अनरसा, फिनी तथा अन्य परिकार बनाउँदा भान्सा र प्रयोग गरिने सामग्री सफा राख्नुपर्छ । खानेकुरा बनाउनुअघि हात राम्ररी धुने, सफा भाँडाकुँडा प्रयोग गर्ने, खाद्य सामग्रीलाई उचित तरिकाले भण्डारण गर्ने र पकाइसकेका खानेकुरालाई धुलो, फोहोर तथा झिँगाबाट जोगाउनुपर्छ । त्यस्तै, तेल, घिउ, दूध, पिठो र अन्य कच्चा पदार्थ खरिद गर्दा तिनको गुणस्तर र उपभोगयोग्य मिति जाँच गर्नुपर्छ । बासी वा बिग्रिएका सामग्री प्रयोग गरेर परिकार बनाउनु हुँदैन । पकाइसकेका खानेकुरा लामो समयसम्म खुला राख्नु हुँदैन । विशेषगरी दूध तथा दूधबाट बनेका मिठाईलाई उचित तापक्रममा भण्डारण गर्नुपर्छ । चाडपर्वमा रमाइलो गर्ने क्रममा धेरैले नियमित खानपानको तालिका पालना गर्दैनन् । बिहान, दिउँसो र बेलुकाको खानाको समय अनियमित हुने तथा पटक–पटक मिठाई र चिल्लो खानेकुरा खाने बानीले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । त्यसैले तिहारमा परम्परागत परिकारको स्वाद लिँदा पनि मात्रा मिलाएर खानुपर्छ । मिठाई र सेलरोटी मात्रै बढी खानेभन्दा दाल, तरकारी, फलफूल र अन्य पोषिलो खानेकुरालाई पनि नियमित खानामा समावेश गर्नुपर्छ । पर्याप्त पानी पिउने र शारीरिक गतिविधिलाई निरन्तरता दिनु पनि उत्तिकै आवश्यक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा
Latest NewsJust now

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं। अर्थमन्त्री वाग्ले प्रतिष्ठित म्यागजिन ‘टाइम’द्वारा सार्वजनिक सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा परेका छन्। जलवायु परिवर्तनका असर न्यूनीकरण र दिगो विकासमा योगदान पुर्याउने विश्वभरका व्यक्तित्वहरूलाई समेटेर उक्त सूची तयार पारिएको हो। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा सक्रिय डा. वाग्लेलाई विशेष गरी रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनले निर्वाह गरेको भूमिकाका कारण सूचीमा समावेश गरिएको टाइमले ...

नेपालन्युज
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा
Latest NewsJust now

चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौ गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को शीर्षस्थानमा उक्लिएको छ।  सोमबारको दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौँ अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो। शीर्षस्थानमा उक्लिएसँगै काठमाडौँको प्लेअफ सम्भावना मजबुत बनेको छ।  पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार चौथो खेलमा जित निकाल्दै आठ अंक जोडेको छ। ... ...

नेपालखबर
तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने
Latest NewsJust now

तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने

काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टासम्म सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले आवश्यक नियम, सर्त र मर्यादा पालना गर्दै देशभर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमार्फत नेपाली मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको देउसी-भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा सञ्चालन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play