Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

तिहार नजिकिएसँगै माटाका पाला बनाउन भ्याइनभ्याइ !

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार नजिकिएसँगै माटाका पाला बनाउन भ्याइनभ्याइ !
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाका पाला बनाउन भ्याइनभ्याइ छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा लक्ष्मीपूजाका दिन माटाका पाला बाल्ने परम्परा रहेकाले भक्तपुरको दरबार स्क्वायर आसपासस्थित कुमाले टोलका प्रजापति समुदायका सदस्यहरू यतिबेला पाला बनाउन व्यस्त छन् । कुमाले टोलमा अहिले कसैले माटो मुछिरहेका छन् त कसैले चक्रमा माटो राखेर पालालाई आकार दिइरहेका छन् । कोही तयार भएका पाला सुकाउँदै छन् भने कोही भट्टीमा पोलेर बजार पठाउने तयारीमा जुटेका छन् । तिहारको समयमा पाला बढी बिक्री हुने भएकाले यहाँका अधिकांश परिवार बिहानदेखि साँझसम्म पाला बनाउन खटिएका छन् । भक्तपुरमा उत्पादित माटाका पाला उपत्यकामा मात्र नभई उपत्यकाबाहिरका जिल्लामा समेत लोकप्रिय छन् । यसको मौलिकता र गुणस्तरका कारण काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान, चितवन र हेटौँडालगायत विभिन्न स्थानबाट व्यापारी तथा उपभोक्ता पाला खरिद गर्न भक्तपुर पुग्ने गरेका छन् । हाल एउटा माटाको पाला करिब दुई रुपैयाँमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । तिहार नजिकिँदै जाँदा माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने उनीहरूको अपेक्षा छ । तिहारमा घरआँगन सजाउन तथा लक्ष्मीपूजाका दिन घरका दैलो, झ्यालढोका, कौसी र बरन्डामा माटाका पाला प्रज्वलन गर्ने परम्परा छ । त्यस्तै, छठ पर्वमा पनि माटाका भाँडाको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व छ । यही परम्पराका कारण तिहार तथा छठको समयमा माटाका भाँडाको माग बढ्ने गरेको छ । समयसँगै माटाका भाँडा बनाउने परम्परागत पेसामा प्रविधिको प्रयोग बढ्दै गएको छ । पहिले खुट्टाले माटो मुछ्ने र हातले चक्र घुमाएर भाँडा बनाउने कुमालेहरूले अहिले माटो तयार गर्न मेसिन र चक्र घुमाउन मोटरको प्रयोग गर्न थालेका छन् । त्यस्तै, भाँडा पकाउन आधुनिक भट्टीको प्रयोग हुन थालेको छ । यसले उत्पादन प्रक्रिया सहज बनाउनुका साथै समय र श्रमसमेत बचत गरेको व्यवसायीहरूको अनुभव छ । तर प्रविधिको विकाससँगै माटोको अभाव भने उनीहरूका लागि प्रमुख चुनौती बनेको छ । व्यवसायी विवेक प्रजापतिका अनुसार पहिले भक्तपुरमै सहज रूपमा माटो उपलब्ध हुने गरेको थियो । अहिले सहरीकरण र घर निर्माण बढेसँगै स्थानीय क्षेत्रमा माटो पाउन कठिन भएको छ । त्यसैले अन्य स्थानबाट महँगो मूल्यमा माटो खरिद गरेर ल्याउनुपर्ने बाध्यता छ । “पहिले माटो भक्तपुरमै पाइन्थ्यो । अहिले घरैघर बनेपछि अन्य ठाउँबाट माटो किनेर ल्याउनुपर्छ । प्रतिकेजी २० देखि ५० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ,” उनले भने । उनका अनुसार पाला बनाउने सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास भइरहेको छ । तर अपेक्षाअनुसार आम्दानी नहुँदा यो पेसाप्रति नयाँ पुस्ताको आकर्षण कस्तो रहन्छ भन्ने चिन्ता पनि उत्तिकै छ । व्यवसायबाट ठूलो आम्दानी नभए पनि पुर्ख्याैली पेसा र पहिचान जोगाउन आफूहरू निरन्तर लागिरहेको उनले बताए । व्यवसायी गणेशकुमार प्रजापतिका अनुसार तिहारमा जति धेरै पाला उत्पादन गर्न सकियो, त्यति नै बिक्री हुने गरेको छ । तर पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढेसँगै माटाका पालाको माग पहिलेको तुलनामा घट्दै गएको छ । “पहिले बिजुलीको सुविधा नहुँदा हरेक घरमा माटाका पाला मात्रै बालिन्थे । अहिले विद्युतीय बत्तीको प्रयोग बढेको छ । त्यसले गर्दा पालाको बिक्रीमा असर परेको छ,” उनले भने । उनका अनुसार केही वर्षअघिसम्म भक्तपुरको तलेजु मन्दिरबाट कुमाले समुदायले निःशुल्क माटो पाउने गरेका थिए । अहिले भने साँखु, डुवाकोटलगायतका स्थानबाट माटो खरिद गरेर ल्याउनुपरेको छ । यसले उत्पादन लागतसमेत बढाएको छ । हाल भक्तपुरमा करिब ३० देखि ४० प्रजापति परिवार यस पेसामा संलग्न रहेको उनले जानकारी दिए । पुख्र्यौली पेसा जोगाउन स्थानीय सरकारले सहज रूपमा माटो उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उनको माग छ । व्यवसायी रञ्जना प्रजापतिका अनुसार वर्षभरिमा माटाका पाला सबैभन्दा बढी बिक्री हुने समय तिहार नै हो । यस समयमा थोक तथा खुद्रा व्यापारीको चहलपहल बढ्ने गर्छ । त्यसैले यो अवसर गुम्न नदिन कुमाले समुदायका परिवारका सदस्य बिहानदेखि रातिसम्म पाला बनाउन खटिने गरेका छन् । उनका अनुसार नयाँ पुस्ता पनि यस पेसामा जोडिन थालेको छ । आफ्नै छोरा पनि पाला बनाउने काममा संलग्न रहेको उनले बताइन् । तर यो पेसाबाट भविष्यमा राम्रो आम्दानी गर्न सकिने विश्वास नहुँदा धेरै युवाको आकर्षण घट्दै गएको उनको भनाइ छ । “वर्षभरिमा राम्रो आम्दानी हुने समय नै तिहार हो । त्यसैले यो समयमा परिवारका सबै सदस्य माटोकै काममा व्यस्त हुन्छौँ,” उनले भनिन् । माटाका पाला बनाउने काममा करिब ३० वर्षदेखि संलग्न रोशन प्रजापति पछिल्लो समय पेसा पहिलेको जस्तो सहज नरहेको बताउँछन् । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष तिहारमा पालाको मागसमेत कम छ । माटोको अभावका कारण टाढाटाढाबाट माटो ल्याउनुपर्ने र विद्युतीय बत्तीको बढ्दो प्रयोगले माटाका पालाको बजार प्रभावित भएको उनले बताए । “म यो पेसामा लाग्दा माटाका पालाको धेरै चलन थियो । अहिले पहिलेको जस्तो माग छैन । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि माग कम छ । नयाँ पुस्ताले पनि यो पेसाप्रति खासै चासो देखाएको छैन,” उनले भने । भक्तपुरको कुमाले समुदायका लागि माटाका पाला उत्पादन केवल आम्दानीको माध्यम मात्र नभई पुस्तौँदेखि चलिआएको पेसा, सीप र सांस्कृतिक पहिचानसमेत हो । आधुनिक प्रविधिको प्रयोगले उत्पादन प्रक्रिया सहज बनाए पनि कच्चा पदार्थको अभाव, बढ्दो लागत, विद्युतीय बत्तीको प्रतिस्पर्धा र नयाँ पुस्ताको घट्दो आकर्षणले यो पेसा चुनौतीमा परेको छ । तिहार र छठजस्ता पर्वमा माटाका भाँडाको माग बढ्ने भए पनि वर्षभरि पेसालाई निरन्तरता दिन पर्याप्त बजार र आम्दानीको सुनिश्चितता हुन सकेको छैन । पुर्ख्याैली सीप र संस्कृति जोगाउन स्थानीय सरकारले माटोको सहज उपलब्धता, उत्पादन तथा बजारीकरणमा सहयोग गर्नुपर्ने आवश्यकता व्यवसायीहरूले औँल्याएका छन् । परम्परागत माटाका पाला र भाँडाको प्रयोगलाई निरन्तरता दिनु एउटा पेसा जोगाउनु मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई जीवित राख्नु पनि हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँ : मन्त्री चौधरी
Latest NewsJust now

कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँ : मन्त्री चौधरी

काठमाण्डु– कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा आज आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य […] ...

काठमाण्डुपाटी
अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, फिल्म हेर्दाको अनुभव अब झनै रोमाञ्चक
Latest NewsJust now

अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा बिग मुभिज, फिल्म हेर्दाको अनुभव अब झनै रोमाञ्चक

काठमाडौँ। नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित आफ्नो हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ। प्रविधिमा आएको तीव्र विकास र दर्शकको बदलिँदो अपेक्षालाई... ...

रातोपाटी
नेपाल फेस्टिभल सिड्नीमा प्रकाश, आशिष र रचनाले प्रश्तुती दिने
Latest NewsJust now

नेपाल फेस्टिभल सिड्नीमा प्रकाश, आशिष र रचनाले प्रश्तुती दिने

• प्रकाश सपुत, आशिष सचिन र रचना रिमाल सिड्नीमा 'नेपाल फेस्टिभल सिड्नी २०२६' मा एकसाथ प्रस्तुति दिनेछन्। • महोत्सवले नेपाली कला, संस्कृति र संगीतको प्रवद्र्धन गर्दै नेपाली समुदायलाई एकत्रित गर्ने उद्देश्य राख्दछ। • विभिन्न लोकप्रिय कलाकारहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ। ...

नेपालबहस
टोकियोमा चोरी भएको २ लाख ९० हजार डलरको घडी माफीपत्रसहित फिर्ता भएपछि...
Latest NewsJust now

टोकियोमा चोरी भएको २ लाख ९० हजार डलरको घडी माफीपत्रसहित फिर्ता भएपछि...

टोकियो । जापानको राजधानी टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । चोरी भएको एक सातापछि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play