म्याग्दी । तिहारलाई लक्षित गरी म्याग्दीको बेनी बजारमा अवैध रूपमा भित्राइएका पटाकामाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले बजारका विभिन्न स्थानबाट बरामद गरेका करिब १ सय थान पटका नष्ट गर्दै यसको खरिदबिक्री, ओसारपसार तथा प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराएको हो । बेनीको वीरेन्द्रचोकलगायत बजारका विभिन्न स्थानमा प्राप्त सूचनाका आधारमा प्रहरीले पटका बरामद गरेको हो । चाडपर्वको समयमा पटका तथा आतसबाजीका कारण हुन सक्ने दुर्घटना, आगलागी र वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा निगरानी कडा बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले कानुनविपरीत पटका तथा अन्य विस्फोटक पदार्थको कारोबार र प्रयोग गर्नेलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँकाअनुसार पहिलो चरणमा पटका बरामद गरी सम्बन्धित व्यक्तिलाई सचेत गराइएको भए पनि अटेर गरी पुनः बिक्री वितरण वा प्रयोग गरेको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ । विशेषगरी बालबालिकाले रमाइलोका नाममा पटका पड्काउँदा चोटपटक तथा अन्य जोखिम निम्तिन सक्ने भएकाले अभिभावकलाई आफ्ना बालबालिकाप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुरमा पटका तथा आतसबाजीलाई समेत सामान्य विस्फोटक पदार्थका रूपमा समेटिएको छ । दफा १३८ अनुसार सामान्य विस्फोटक पदार्थ उत्पादन गर्ने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ । यस्तै, विस्फोटक पदार्थको प्रकृतिअनुसार सजाय थप कडा हुन सक्ने कानुनी व्यवस्था छ । प्रहरीले बेनी बजारसँगै ग्रामीण क्षेत्रमा समेत पटका बिक्री तथा प्रयोगमाथि निगरानी गरिरहेको छ । जिल्ला बाहिरबाट भित्रिने सवारीसाधनमा समेत छड्के जाँचलाई तीव्रता दिइएको छ । चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले गस्ती तथा निगरानी बढाएको भन्दै पटका खरिदबिक्री नगर्न र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
तिहारमा पटका पड्काउनेलाई प्रहरीको चेतावनी, बेनीमा १ सय थान पटका नष्ट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






