Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तिहारको उल्लासमा कलाकार : व्यस्तताबीच परिवार, सम्बन्ध र उत्सव

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको उल्लासमा कलाकार : व्यस्तताबीच परिवार, सम्बन्ध र उत्सव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपालीहरूको दोस्रो महान् पर्व तिहार यतिबेला घरआँगनमा भित्रिने तयारीमा छ । शरद ऋतु आफैंमा चाडपर्वको उल्लास बोकेर आउने ऋतु हो । बडादशैँको रौनक सेलाउन नपाउँदै नेपालीहरूको घरआँगनमा तिहारको उमंग छाउने गर्दछ । झिलीमिली बत्ती, सयपत्री र मखमली फूलको सुगन्ध, देउसी-भैलोको गुञ्जन अनि मीठा परिकारको स्वादले वातावरण नै उत्सवमय बनेको छ । सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिले विशेष महत्त्व बोकेको तिहारलाई दीपावलीका रूपमा समेत चिनिन्छ । पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक वा पञ्चक पनि भन्ने गरिन्छ । काग, कुकुर, गाई र गोरुजस्ता पशुपक्षीको पूजा गर्दै अन्तिम दिन भाइटीकाका माध्यमबाट दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई अझ प्रगाढ बनाउने यस पर्वको आफ्नै विशिष्ट महत्त्व छ । तिहार केवल धार्मिक आस्थाको पर्वमात्र होइन, पारिवारिक मिलन, आपसी सद्भाव र खुशी साटासाट गर्ने विशेष अवसर पनि हो । यही कारण धनी-गरिब, नेता-अभिनेता, सर्वसाधारणदेखि हरेक वर्ग र समुदायका मानिस आ-आफ्नै तरिकाले तिहारको स्वागत र तयारीमा जुटेका छन् । गाउँदेखि शहरसम्म घर, पसल र सार्वजनिकस्थल झिलीमिली बत्तीले सजिँदै छन् । फूल, मीठाई, मसला तथा विभिन्न परिकारको किनमेलले बजारमा छुट्टै चहलपहल थपेको छ । चाडपर्वको यो रौनकबाट नेपाली कलाकारहरू पनि अछुतो रहने कुरै भएन । वर्षभरि दर्शक तथा श्रोतामाझ आफ्नो कला प्रस्तुत गर्दै मनोरञ्जन दिलाउन व्यस्त रहने कलाकारहरूका लागि तिहार विशेष अवसर हो । यद्यपि, सबै कलाकारको तिहार मनाउने शैली र योजना भने एउटै हुँदैन । कोही चलचित्रको प्रचार-प्रसार तथा नयाँ परियोजनाको काममा व्यस्त हुन्छन् भने कोही देश-विदेशमा सांगीतिक कार्यक्रममार्फत दर्शक तथा श्रोतामाझ पुगिरहेका हुन्छन् । कतिपय कलाकार भने वर्षभरिको व्यस्तता र भागदौडलाई केही समय थाती राखेर परिवार, आफन्त र प्रियजनसँग तिहारको खुशी साट्न चाहन्छन् । पर्दामा र मञ्चमा अरूलाई हँसाउने, नचाउने र मनोरञ्जन दिलाउने कलाकारहरूको आफ्नै पारिवारिक संसारमा तिहारको रौनक कस्तो हुन्छ ? उनीहरू यस वर्षको तिहार कसरी मनाउँदैछन् ? कसका लागि तिहार कामको व्यस्तताबीचको अवसर बनेको छ भने कसका लागि परिवारसँग बिताउने अमूल्य समय ? यसै सन्दर्भमा केही कलाकारसँग कुराकानी गर्दा उनीहरूको तिहार मनाउने योजना, पारिवारिक सम्झना र चाडपर्वप्रतिको अनुभूति रोचक हुने अपेक्षा गर्न सकिन्छ । मनोरञ्जन दिलाउन दिनरात व्यस्त रहने कलाकारको यो तिहार मनाउने योजना कस्तो छ । कलाकारको तिहार योजना उहाँहरूकै शब्दमा :- धेरै वर्षपछि यसपालिको तिहार आफ्नै जन्मभूमिमा : ज्ञानेन्द्र गदाल, बरिष्ठ गीतकारधेरै वर्षपछि यसपालिको तिहार आफ्नै जन्मभूमि, आफ्नै गाउँ फिक्कलस्थित मूलघरमा मनाउने विशेष अवसर जुरेको छ । अझ विशेष कुरा त, आफ्नै दिदीबहिनीहरूको हातबाट भाइटीका लगाउने सौभाग्य मिल्दैछ । अरू दिदीबहिनीसँग अमेरिकामा रहँदा पनि भाइटीका लगाउने अवसर मिलेको थियो, तर मेरी कान्छी बहिनीसँग भने धेरै वर्षपछि टीका लगाउन पाउने कुराले मनमा छुट्टै उत्साह, उमंग र भावुकता थपेको छ । यसपालिको तिहार मेरा लागि केवल एउटा चाडपर्वमात्र होइन, बाल्यकालका ती अविस्मरणीय दिनहरूमा फर्किने सुन्दर अवसर पनि हो । गाउँघरको तिहार, घरआँगनको रमझम, दिदीबहिनीको माया, देउसी-भैलोको गुञ्जन, आफन्तजनसँगको भेटघाट र मौलिक नेपाली संस्कृतिको आत्मीय स्पर्श-यी सबैलाई फेरि एकपटक नजिकबाट अनुभूत गर्ने ठूलो रहर छ । परदेशमा रहँदा चाडपर्व मनाइयो, सम्झनाहरू साटियो, परम्परालाई निरन्तरता पनि दिइयो, तर जन्मभूमिको माटो, आफ्नै घरआँगन र परिवारसँगै मनाइने चाडपर्वको आनन्द र आत्मीयता नै बेग्लै हुँदो रहेछ । यसपालि फिक्कलको आफ्नै घरमा बाल्यकालको तिहार फेरि एकपटक बाँच्नेछु । पुराना सम्झना ताजा बनाउनेछु, सम्बन्धका न्यानोपनहरू सँगाल्नेछु र जीवनभर स्मरणीय रहने पलहरूमा रमाउनेछु । साँच्चै, यसपालिको तिहार विशेष हुनेछ : आफ्नोपनको, पारिवारिक मायाको, बाल्यकालको पुनरागमनको र आफ्नो मौलिक संस्कृति तथा परम्परासँग पुनः जोडिने अविस्मरणीय उत्सवको ! उल्लास, उमंग र आत्मीयताका साथ मनाउने योजना छ : अमर वान्तु, वरिष्ठ गीतकारतिहार मलाई सबैभन्दा प्रिय र रमाइलो लाग्ने चाड हो । झिलीमिली बत्ती, फूलमाला, दीयोको उज्यालो र देउसी–भैलोका मधुर धुनले तिहारलाई विशेष बनाउँछन् । तिहारको प्रसंग उठ्नेबित्तिकै मन बाल्यकालका ती अविस्मरणीय दिनहरूमा पुग्छ, जहाँ सानासाना कुरामै ठूलो खुशी र आनन्द मिल्थ्यो । दशैँमा आफन्त तथा मान्यजनबाट टीका र आशीर्वादसँगै दक्षिणा पाउँदाको खुशी, दिदीहरूसँग बसेर दक्षिणा गन्नुको रमाइलो र मावली जान पाउँदाको उत्साह आज पनि उत्तिकै ताजा छन् । तिहारका दिनमा भने राति घरमा कसैले थाहा नपाउने गरी दिदी र भाइसँग सुटुक्क निस्किएर धानबारी हुँदै टहरेघरमा खोटखोटे खेल्न जाने र रातभर रमाइलो गरेर बिहान घर फर्किने ती क्षणहरू झन् अविस्मरणीय छन् । सम्झिँदा आज पनि मन रोमाञ्चित हुन्छ । तर, समयसँगै समाज, जीवनशैली र चाडपर्व मनाउने परम्परा पनि बदलिँदै गएको छ । कुनै समय गाउँघरमा चाडपर्व आउनुअघि नै देखिने चहलपहल, आत्मीयता र उल्लास अहिले क्रमशः पातलिँदै गएको अनुभूति हुन्छ । पहिलेजस्तो रौनक र उमंग हराउँदै गएको हो कि भन्ने लाग्छ । यसपालिको तिहार काठमाडौंमै विशेष उल्लास र आत्मीयताका साथ मनाउने योजना छ । जहाँ रहेर, जसरी मनाए पनि तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भावको उज्यालो छर्न सकोस् । विगतका सुनौला सम्झनालाई हृदयमा सजाउँदै वर्तमानलाई खुशीका साथ अँगाल्न र भविष्यलाई अझ सुन्दर बनाउन सकौं । आपसी प्रेम र सद्भाव बढाउने पर्व : उत्तम केसी, अध्यक्ष चलचित्र कलाकार संघगतवर्ष अष्ट्रेलियामा तिहार मनाएको थिए भने यो वर्ष नेपालमै मनाउँदै छु । दीपावली भनिए पनि हाम्रो तिहारको आफ्नै मौलिकता छ । यो नेपालीको विशेष पर्व हो । दाजुभाइ र दिदीबहिनीको विशेष पर्वका रूपमा यसलाई लिइन्छ । मेरो पुर्ख्यौली थलो नेपालटारमा तिहार मनाउँदै छु । तिहार केवल फूल र बत्तीले घर सजाउने पर्वमात्र होइन, यो सम्बन्धमा मीठास घोल्ने, आपसी प्रेम र सद्भाव बढाउने तथा खुशी साटासाट गर्ने अवसर पनि हो । यस्ता सांस्कृतिक र पारिवारिक आत्मीयताले भरिएका पर्वहरूले हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राखिरहेका छन् । उज्यालोको यो पावन पर्व तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुशीको उज्यालो छर्न सकोस् । सबैका घरआँगनमा फूलझैँ मुस्कान फुलोस् र जीवन सधैं दीपावलीझैँ उज्यालो बनिरहोस् । सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । तिहार आफैंमा अत्यन्त सुन्दर पर्व हो : मिथिला शर्मा, वरिष्ठ कलाकारचाडपर्वहरू परिवारका सदस्यहरूसँग मिलेर हर्षोल्लासका साथ मनाउन निकै रुचाउँछु । परिवारसँगै बसेर रमाइलो गर्नु, मीठा परिकार खानु र खुशी साटासाट गर्नु नै चाडपर्वको सबैभन्दा सुन्दर पक्ष हो । विशेषगरी, मलाई तिहार निकै मनपर्छ । तिहार आउनासाथ घरआँगन झिलीमिली बत्तीले सजिन्छन्, चारैतिर दियोको उज्यालो फैलिन्छ र मीठाई तथा फूलहरूको सुगन्धले वातावरण नै मनमोहक बनाउँछ । देउसी–भैलो, भाइटीका, रंगोली र परिवारबीचको आत्मीयताले तिहारलाई अझ विशेष बनाउँछ । तिहार मेरो लागि केवल एउटा चाडमात्र होइन, यो प्रेम, सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सुन्दर अवसर हो । मेरो विचारमा तिहार आफैंमा अत्यन्त सुन्दर पर्व हो । तर, यस पर्वको मौलिकता र महत्त्व जोगाइराख्न हामी सबै सचेत हुनुपर्छ । अत्यधिक खर्च गर्ने, देखासिकी गर्ने तथा जुवा–तासमा लिप्त हुनेजस्ता विकृतिबाट टाढा रहनुपर्छ । चाडपर्व मनाउँदा आर्थिक अवस्था, सामाजिक मर्यादा र आपसी सद्भावलाई ध्यान दिनुपर्छ । तिहारको वास्तविक खुशी महँगा उपहार वा तडकभडकमा होइन, परिवारसँग बिताएका अमूल्य पल, आपसी प्रेम, आत्मीयता र अनुहारमा छाएको मुस्कानमा लुकेको हुन्छ । मौलिक संस्कृतिको संरक्षण गर्दै विसंगतिमुक्त तिहार मनाऔं : पवित्रा आचार्य, नायिकाजताततै झिलीमिली बत्तीको उज्यालो, घरआँगनमा गुञ्जिने देउसी–भैलोका मधुर स्वर, परम्परागत गीतसंगीत र आपसी हर्षोल्लासले तिहारलाई साँच्चिकै रमाइलो र अविस्मरणीय बनाउँछन् । त्यसैले तिहार मेरा लागि सबैभन्दा प्रिय पर्वहरूमध्ये एक हो । यस पर्वले मानव र पशुपक्षीबीचको प्रगाढ सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा दाजुभाइ र दिदीबहिनीबीचको पवित्र स्नेह र अटुट सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ । काग, कुकुर, गाई र गोरुको पूजा गर्नुले मानव जीवनमा पशुपक्षीको महत्त्व र उनीहरूप्रतिको हाम्रो दायित्वलाई समेत स्मरण गराउँछ । तिहारको अर्को सुन्दर पक्ष देउसी–भैलो हो । यसले हाम्रो मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानलाई संरक्षण गर्नुका साथै सामाजिक एकता, आपसी सद्भाव र सामूहिक भावनाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । यद्यपि, तिहारका केही नकारात्मक पक्ष पनि छन् । लक्ष्मीपूजाका नाममा आफ्नो धनसम्पत्ति र वैभवको अनावश्यक प्रदर्शन गर्ने प्रवृत्ति, जुवातास खेल्ने विकृति तथा मादक पदार्थको अत्यधिक सेवनले पर्वको वास्तविक महत्त्व र गरिमामाथि नै प्रश्न उठाउने गरेका छन् । यस्ता विकृति र विसंगतिलाई निरुत्साहित गर्दै पर्वलाई सभ्य, मर्यादित र संस्कृतिमैत्री बनाउनु हामी सबैको साझा दायित्व हो । यसपालिको तिहार अष्ट्रेलियामा मनाउँदै छु : मञ्जु थापा, गायिकाहाम्रो हिन्दु परम्परामा तिहार केवल एउटा पर्वमात्र होइन, यो उज्यालो, उमंग, प्रेम, सद्भाव र पारिवारिक एकताको सुन्दर संगम पनि हो । तिहार आउनासाथ चारैतिर झिलीमिली बत्तीले घर र आँगन सजिन्छन् । सेलरोटी पाकेको मीठो बासना फैलिन्छ, देउसी–भैलोको गुञ्जनले गाउँघर नै रमाइलो हुन्छ । लक्ष्मीपूजाको रौनक, दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र भाइटीकाको आत्मीयताले तिहारलाई अझ विशेष बनाउँछ । विभिन्न परिकार, मीठा परिकार र आफन्तसँगको भेटघाटले यो पर्वको खुशीलाई झनै बढाउँछ । तर, यसपटकको तिहार भने म नेपालमा होइन, अष्ट्रेलियामा मनाउँदै छु । खुशीको कुरा, मेरो भाइ पनि यहीँ अष्ट्रेलियामै छन् । त्यसैले नेपालबाट टाढा भए पनि परिवारको साथ र मायाले नेपालमै तिहार मनाइरहेको अनुभूति हुनेछ । हुन त नेपालमा आफ्नै घर, आँगन, छरछिमेक र आफन्तहरूसँग मनाउँदाको जस्तो रौनक र रमाइलो यहाँ नहोला, तर पनि उपलब्ध समय र अवसरलाई भरपूर सदुपयोग गर्दै सकेसम्म तिहारलाई विशेष र अविस्मरणीय बनाउने हाम्रो योजना छ । हरेक पर्वका केही राम्रा पक्षसँगै सुधार गर्नुपर्ने पक्ष पनि हुन्छन् । तिहारजस्तो पवित्र र उज्यालो पर्वमा जुवातास खेल्ने, अत्यधिक मदिरापान गर्नेजस्ता गतिविधिले यसको वास्तविक सौन्दर्य र महत्त्वलाई ओझेलमा पार्न सक्छन् । यस्ता विकृतिबाट टाढा रहेर आपसी प्रेम, सद्भाव, संस्कार र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिन सकियो भने तिहारको खुशी अझ अर्थपूर्ण बन्नेछ । साधना कला केन्द्रको तर्फबाट हामी दुई दिनसम्म देउसी-भैलो खेल्दै छौ : मिलन मोक्तान, गीतकारनेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न स्थानमा मौलिक लोकनृत्यसहित देउसी–भैलो कार्यक्रम प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ । यसै क्रममा साधना कला केन्द्रको तर्फबाट हामी दुई दिनसम्म देउसी–भैलो खेल्दै नेपाली मौलिक कला र संस्कृतिको सुन्दरता प्रस्तुत गर्दैछौं । तिहार मेरो सबैभन्दा प्रिय र मन पर्ने पर्व हो । तिहार आउनासाथ मन बाल्यकालका ती रमाइला दिनहरूमा पुग्छ, जहाँ खुशी किन्न धेरै पैसा चाहिँदैनथ्यो, न त रमाउन कुनै ठूलो बहाना नै ! दशैँमा नयाँ किनेको जुत्ता तिहारमा देउसी खेल्दाखेल्दै सोलै दुलो पर्ने गरी घोटिन्थ्यो । घरघरमा देउसी खेल्दै हिँड्दा जुत्ताको हालत यस्तो हुन्थ्यो कि घर फर्किएपछि बाबाको गाली पनि उत्तिकै खानुपर्थ्यो । तर, आज सम्झिँदा बाबाको त्यो गालीमा पनि कति माया लुकेको रहेछ भन्ने महसुस हुन्छ । ती दिन, ती साथीभाइ, त्यो रमाइलो र बाबाको गाली- सबै तिहारका अमूल्य र कहिल्यै नमेटिने मीठा सम्झना बनेर मनमा बसेका छन् । समय बदलियो, उमेर बढ्यो, तर तिहारप्रतिको मोह र देउसी–भैलोप्रतिको आत्मीयता आज पनि उस्तै छ । फरक यतिमात्रै हो, हिजो हामी रमाइलोका लागि देउसी खेल्थ्यौं, आज आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ चिनाउने र जीवन्त राख्ने उद्देश्यले देउसी–भैलोमा जोडिएका छौं । संस्कृति हाम्रो पहिचान हो, परम्परा हाम्रो गौरव हो र यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । म्हः पूजा र न्हूदँया भिन्तुना विशेष आकर्षण : गोपालकाजी कायस्थ, वरिष्ठ उपाध्यक्ष, नेपाल चलचित्र संघतिहार मेरो मनको सबैभन्दा प्रिय पर्व । तिहार मलाई सबैभन्दा बढी मन पर्ने पर्व हो । यस पर्वसँग मेरा अनेकौं सुन्दर सम्झना, आत्मीय भावना र गहिरो सांस्कृतिक सम्बन्ध जोडिएका छन् । विशेषगरी, हाम्रो मौलिक परम्पराअनुसार मनाइने म्हः पूजा र नयाँ वर्षको शुभारम्भसँगै मनाइने न्हूदँया भिन्तुना यस पर्वका विशेष आकर्षण हुन् । वर्षमा एकपटक आफ्नै शरीर, आत्मा र अस्तित्वलाई सम्मान गर्दै आफैंलाई पूजा गर्ने हाम्रो मौलिक परम्परा म्हः पूजाले हामीलाई आत्मसम्मान, आत्मशुद्धि र आफ्नो अस्तित्वको महŒवबोध गराउँछ । संसारमै विरलै पाइने यस्तो सुन्दर सांस्कृतिक परम्पराको हिस्सा हुन पाउनु आफैंमा गौरवको विषय हो । त्यसैगरी, न्हूदँया भिन्तुनामार्फत नयाँ वर्षको स्वागत गर्दै सुख, शान्ति, समृद्धि र नयाँ आशाका साथ जीवनलाई अघि बढाउने उत्साह प्राप्त हुन्छ । बाल्यकालमा तिहारको रौनक नै बेग्लै हुन्थ्यो । घरआँगनको सरसफाइ, झिलीमिली बत्ती, देउसी–भैलो, सेलरोटीको सुगन्ध, आफन्तसँगको भेटघाट र चाडपर्वको उमंगले मन त्यसै रमाउँथ्यो । समय बदलिएको छ, उमेर बढेको छ, जिम्मेवारीहरू थपिएका छन्, तर तिहारप्रतिको मोह र यसले दिने खुशीमा कुनै कमी आएको छैन । आज पनि तिहार आउँदा मनमा उही उत्साह, उही उमंग र उही बाल्यकालीन खुशी सञ्चारित हुन्छ । मेरो विचारमा, तिहार केवल एउटा चाड होइन, प्रकृति, संस्कृति, सम्बन्ध र आत्मसम्मानको सुन्दर संगम हो । यो प्रकृति र जीवजन्तुप्रतिको सम्मान प्रकट गर्ने पर्व हो । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयता प्रगाढ बनाउने पर्व हो । देउसी-भैलो, गीतसंगीत र नाचगानमार्फत सांस्कृतिक मनोरञ्जन र सामाजिक एकता अभिव्यक्त गर्ने पर्व हो । यसैले तिहार मेरा लागि उज्यालोको मात्र होइन, आत्मीयता, अपनत्व, पहिचान, परम्परा र जीवनप्रतिको उत्साहको पर्व हो ।तिहारले हरेक वर्ष मनमा नयाँ उमंग, जीवनमा नयाँ ऊर्जा र सम्बन्धहरूमा थप आत्मीयता भरिदिन्छ । सायद त्यसैले तिहार मलाई सबैभन्दा प्रिय लाग्छ । सम्पूर्णमा न्हूदँया भिन्तुना र तिहारको हार्दिक मंगलमय शुभकामना ! विभिन्न सांगीतिक कार्यक्रममा सरिक हुनेछु : सारिका घिमिरे गायिका/नायिकायो तिहारमा पनि म विभिन्न सांगीतिक कार्यक्रममा सरिक हुनेछु । तिहार उज्यालो, खुशी, उमंग र आत्मीयताको अनुपम पर्व हो । मलाई सबैभन्दा मन पर्ने चाडपर्वमध्ये तिहार पनि एक हो । फूलहरूको सुगन्ध, झिलीमिली बत्तीको चमक, देउसी–भैलोको गुञ्जन र घरआँगनमा छाउने उत्साहले तिहारलाई अझ विशेष बनाउँछ । विगतका वर्षहरूमा जस्तै यसपालि पनि हर्षोल्लासका साथ तिहार मनाउने सोच बनाएको छु । कागदेखि दाजुभाइसम्मको पूजा गरिने भएकाले पनि तिहार अन्य पर्वभन्दा केही फरक र विशेष लाग्छ । यस पर्वले मानिसमात्र होइन, प्रकृति र विभिन्न जीवजन्तुप्रतिको सम्मान, प्रेम र सद्भावको सन्देश पनि दिन्छ । देउसी-भैलो खेल्ने, अरूले खेलेको हेरेर रमाउने, देउसी-भैलो टोलीलाई दक्षिणा दिने, घरमा मीठा परिकार बनाउने र परिवारसँग रमाइलो गर्दै समय बिताउने नै पनि यस वर्षको मेरो तिहार योजना छ । विशेषगरी तिहारमा पाक्ने सेलरोटीको त आफ्नै छुट्टै महत्व र स्वाद छ । मलाई आफैं सेलरोटी पकाउन निकै मन पर्छ । परिवारसँगै बसेर सेलरोटी पकाउनु, खानु र रमाइलो गर्नु तिहारको छुट्टै आनन्द हो । परिवारका सदस्यहरूसँग हर्षोल्लासका साथ मनाउँदै छु : शीला गजुरेल, मोडल/कलाकारउज्यालो, उमंग, खुशी र आपसी प्रेमको अनुपम पर्व तिहार यसवर्ष आफ्नै परिवारका सदस्यहरूसँग हर्षोल्लासका साथ मनाउँदै छु । भाइटीकाको यस पवित्र अवसरमा प्यारो भाइलाई सप्तरंगी टीका र मखमली फूलको माला पहिरिएर यो सुन्दर पर्व मनाउने सोचले मन हर्ष र आत्मीयताले भरिएको छ । दिदीबहिनी तथा दाजुभाइबीचको निःस्वार्थ माया, अटुट विश्वास, सद्भाव र आत्मीयताको प्रतीक यस पर्वले हरेक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताका नयाँ किरण छरिदियोस् । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा शुभेच्छुकहरूमा तिहार एवं भाइटीकाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सबैका घरआँगनमा दीपावलीको उज्यालो छाओस्, हरेक मुहारमा मुस्कान छाओस् र हरेक मनमा प्रेम, सद्भाव तथा खुशीको सञ्चार भइरहोस् भन्ने कामना गर्दछु ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लेन्समाथि कोमोको कीर्तिमानी जित
Latest NewsJust now

लेन्समाथि कोमोको कीर्तिमानी जित

फेनेबाचेसँग ३–२ ले हारेपछि लिभरपुलको शतप्रतिशत सुरुआत रोकियो भने कोमोले लेन्सलाई आठ गोलको अन्तरले पराजित गर्‍यो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play